काठमाडौँ- काठमाडौँको सीतापाइलामा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षीया छोरी अनिता र २ वर्षीया नातिनी शिवानीको हत्या गरी राजु घिमिरे (काजी विश्वकर्मा) ले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका-६ स्थित कोठामा श्रीमती, छोरी र नातिनीको हत्या गरेर राजुले जंगलमा गएर झुन्डिएर आत्महत्या गरेको जानकारी प्रहरीले दिएको हो। राजुको शव नागार्जुन जंगलको रूखमा झुन्डिएको अवस्थामा परेको छ।
स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दले हिमालप्रेससँग भनिन्, ‘राजुले बिहान पौने ८ बजे झट्केलो छोरालाई दूध र बिस्कुट किन्न पठाएर पत्नी, छोरी र नातिनीको हम्बरले हानेर हत्या गरेको खुलेको छ।’ राजुले पत्नी, छोरी र नातिनीको हत्या गरेको खबर आफ्नो ससुरालाई सुनाएको चन्दले बताइन्। ‘पत्नी, छोरी र नातिनीको हत्या गरेको खबर आफन्तलाई गरेपछि राजु नागार्जुनको जंगलमा पुगेका रहेछन्। रूखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ’, उनले भनिन्।
घटनाअघि राजुले ससुरालाई फोन गरेर ‘तेरो छोरी मार्छु’ भनेर पटकपटक धम्की दिएको झटकेलो छोरालाई उधृत गर्दै चन्दले जानकारी दिइन्। चन्दका अनुसार झट्केलो छोराले ‘ससुराले पनि हिम्मत भए मार’ भनेर बयान दिएका छन्।
घटना के कारणले भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताइन्। चन्दले भनिन्, ‘परिवारिक समस्या र घरझगडाका कारण हत्याको अवस्था सिर्जना भएको हुन सक्ने अनुमान छ।’ उनीहरूको परिवारिक समस्या के थियो भन्ने विषयमा अनुसन्धन भइरहेको छ। सोलुखुम्बु घर भई सीतापाइलामा डेरा गरी बस्ने उनीहरू दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने परिवार रहेको बताइएको छ।