वस्ती पस्न थाले वन्यजन्तु

हिमाल प्रेस ७ फागुन २०८० २१:४१ | Monday, February 19, 2024
वस्ती पस्न थाले वन्यजन्तु प्रतिनिधिमूलक तस्बिर

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन्। केही सातायतादेखि बस्तीमा चितुवा र जंगली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन्।

बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका–८ पचुइँका मनोज चन्दले बताए। ‘चितुवाले तीनवटा कुकुर खाएको छ। चितुवा देखिएपछि गाउँभर त्रास छ,’ उनले भने, ‘बेलुकातिर घरबाहिर निस्कनै सकिदैँन। कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ।’

चन्दका अनुसार हुलाकी सडकअन्तर्गत पर्ने खप्टीनालादेखि पुचइँसम्म जोड्ने सडकमा स्थानीय हिँडडुल गर्न डराउने गरेका छन्। घना उखुबारी हुनाले सो क्षेत्रमा चितुवा तथा हिंस्रक जनावर लुक्ने गरेको उनको भनाइ छ।

केही दिनअघि खप्टिनाला क्षेत्र भएर मोटरसाइकलमा यात्रा गरिरहेका बेलडाँडी गाउँपालिका–३ खैरीघाटका जीवन चन्द आक्रमणमा परेका थिए। ‘चितुवा हो वा बाघ चिन्न सकिनँ। हेर्दा ठूलै थियो। एक्कासि हातमा झम्टेर सडकको पारिपट्टि झर्‍यो,’ उनले भने, ‘म मोटरसाइकलबाट लडेँ। फेरि झम्टिने डरले मोटरसाइकल उठाएर भागेँ।’

उनको हातमा पञ्जाले चिथोरेको घाउ छ। कैलालीको अत्तरियास्थित माइक्रोफाइनान्समा काम गर्ने उनी शुक्रबार र शनिबार सो बाटो भएर घर आउजाउ गर्छन्। सो घटनापछि खप्टिनालाको बाटो भएर हिँडडुल गर्न डर लागेको उनले बताए।

खप्टिनाला क्षेत्रमै गत वैशाखमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो। त्यसपछि उक्त हिंस्रक बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखानामा राखिएको छ।

सव–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवका अनुसार पुनर्वासमा जंगली हात्तीको बथान बस्तीमा देखिएको छ। पुनर्वास नगरपालिका–१० पचकडिया विकासबस्तीमा छावासहित हात्तीको ठूलो बथान बस्तीमा देखा परेको हो। पुनर्वास–१० मै चितुवा पनि देखा परेको उनको भनाइ छ। – रासस

प्रकाशित: ७ फागुन २०८० २१:४१ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast