५ करोड नदिए मार्ने धम्की दिएको आरोपमा दुई युवक पक्राउ

हिमाल प्रेस २५ माघ २०८० १४:२५
28
SHARES
५ करोड नदिए मार्ने धम्की दिएको आरोपमा दुई युवक पक्राउ सांकेतिक तस्बिर।

पोखरा- सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदीप गैरेलाई पटकपटक फोन गरेर ५ करोड माग गरी धम्क्याएको अभियोगमा कास्की प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा २, खुर्कोट घर भई हाल पोखरा ८ सिर्जलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा १४, आर्थर घर भइ हाल पोखराकै सिमलचौर बस्ने ४२ वर्षी दीपकबहादुर क्षत्री हुन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराबाट पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। उनीहरूले हिन्दी भाषामा कुराकानी गरी फोन तथा म्यासेजमार्फत निज गैरेलाई धम्याउँदै रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनायो। कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार उनीहरूले गैरेसँग ५ करोड माग गरेको र नदिए निज गैरे र तिनका परिवारलाई ज्यान मार्नेसम्मको धम्की दिएको पाइएको छ।

पोखरा १६, लामाचौर घर भएका गैरे सच्चाइ सेवा केन्द्र दीपका सञ्चालक हुन्। प्रहरीले निज दर्जी र क्षत्रीको साथबाट ४ थान मोबाइल, भारतीयसहित नेपालको एनसेल र नमस्तेसहित ९ थान सिम, विभिन्न किताब, नोटबुक, विभिन्न व्यक्तिको नाम उल्लेख गरिएको ८ पाना, लागुऔषध, भरुवा बन्दुकमा लाग्ने केप लगायत दसी प्रमाण बरामद गरेको जनाएको छ।

घटनाक्रमअनुसार लक्ष्मण दर्जीले युट्युबबाट गैरेको प्रवचन सम्बन्धमा भिडियो हेर्ने गर्दथे। गैरेबारे बुझ्न उनी गत १३ माघमा सच्चाइ केन्द्रमा पुगेर एक दुई घण्टा बसेर फर्केका थिए। त्यसबेला गैरेको मोबाइल नम्बर लिएका र त्यसको ५ दिनपछि १८ माघमा फोन तथा म्यासेजबाट धम्की लिई रकम माग गरेको प्रारम्भिक बयानमा खुल्न आएको प्रहरीले जनायो।

२० माघ पनि दुवै जना सच्चाइ केन्द्रमा गई आफूहरूले धम्की दिएकोबारे कस्तो असर प¥यो भनी बुझ्न केन्द्र पुगेका थिए भने २३ गते फेरि त्यहाँ गएर आधा घण्टा बसेका थिए।

आफूलाई यो नम्बरबाट रकम माग गरी ज्यान मार्ने धम्की आएकोबारे गैरे प्रहरीसमक्ष उजुरी दिएकोमा प्रहरीले सूक्ष्मरुपमा अनुसन्धान थालेको थियो। र, बुधबार दुवैजना पोखरा सिमलचौरस्थित जाल्पारोड डेराबाट पक्राउ परेका हुन्। उनीहरूले फोन र म्यासेजमार्फत ५ करोड रकम माग गरेको प्रमाण भेटिएको डिएसपी श्रवणकुमार बिकले बताए।

प्रहरी उपरीक्षक थापाका अनुसार पक्राउ परेकामध्ये क्षत्री यसअघि पनि आपराधिक क्रियाकलाप अभियोगमा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय पर्वबाट गत वर्ष हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा समेत पक्राउ परेका उनी २०७१ सालमा वडा प्रहरी कार्यालय बगरबाट उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो।

प्रहरीका अनुसार दुवै जनालाई विभिन्न ३ मुद्दा चलाउने तयारी छ। लागुऔषध गाँजा सम्बन्धी मुद्दा, हातहतियार तथा खरखजानासम्बन्धी र आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

दुवै जना एउटै ठाउँको भएकोले पहिले नै चिनजान थिए। तीमध्ये दर्जी गत महिनामार्फत वैदेशिक रोजगारबाट फर्किएका थिए। ४ वर्षसम्म कतार बसेर फर्केका उनी आउने बित्तिकै क्षेत्रीसँग मिलेर पोखराको सिमलचौरस्थित जाल्पारोडमा डेराकोठा लिई योजनाबद्ध रुपमा उक्त आपराधिक क्रियाकलापमा लागेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रकाशित: २५ माघ २०८० १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast