मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ

हिमाल प्रेस २३ माघ २०८० २०:२३
28
SHARES
मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ

पोखरा- पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ। नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पोखराको मालेपाटनस्थित डेराबाट पक्राउ गरेको हो। पोखरा-२३, ठूलाखेत घर भएका ३८ वर्षीय उनी फरार सूचीमा थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले सहकारी ठगीको आरोप लागेका र हाल फरार रहेकाहरूको खोजीका लागि प्रहरीले सूक्ष्म ढंगले काम गरिरहेको र सोही क्रममा भण्डारीलाई पक्राउ गरिएको बताए।

भण्डारीले सहकारीका पदाधिकारीसँग मिलेमतो गरी बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ। उनले सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीमार्फत् बचतकर्ता बनेर सहकारीमा जोडिएर चर्को मिटरब्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेको अदालतमा पेस गरिएको अभियोजनपत्रमा उल्लेख छ।

तर भण्डारीले भने आफूलाई यस विषय जानकारी नभएको र सहकारीका पदाधिकारीले मिलेमतो गरी आफ्नो कागजात र नाम कीर्ते गरेको जिकिर गरेका छन्। उनलाई मंगलबार जिल्ला अदालतमा हाजिर गराइएकोमा बुधबार बहस हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

उक्त सहकारी ठगी प्रकरणमा आरोपित ३३ जनामध्ये अझै २५ जना फरार छन्। पक्राउ परेकामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

जिल्ला अदालतले सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सहकारीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारीका सञ्चालक समिति सदस्य गोपाल खनाल, सहकारी सल्लाहकार एवं सेयर सदस्य राजु बराल र पोखरा बिरौटाका बुद्धिसागर पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। सहकारीका लेखा संयोजक सूर्यबहादुर अधिकारी भने धरौटी रिहा भएका छन्।

मित्रमिलन सहकारी ठगी प्रकरणमा विज्ञको प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकोमा समग्रमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको थियो।

सहकारी सञ्चालक समितिका पदाधिकारीसमेत बचतकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा कतिपय जनप्रतिनिधि, पत्रकार, अधिवक्ता, प्राध्यापक पनि मुछिएका छन्। फरार रहेकालाई प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रकाशित: २३ माघ २०८० २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast