कुनै समय यस्तो थियो, चामलको भात खान चाड आउनुपर्थ्यो। कहिले दसैँ आउला र मिठो खान पाइएला भनेर बस्थे विशेषगरी बच्चाहरू। एक ठाउँबाट अर्को ठाउँमा पैदलै जानुपर्थ्यो। जंगलमा लुटिने डर उत्तिकै हुन्थ्यो। एउटै लुगा धेरैपटक टालेर लाउनुपर्थ्यो। बजार सुगम थिएन। पैसाको मुख देख्न पनि गाह्रो पर्थ्यो।
अहिले सामान्य मान्छेले पनि पहिलाका राजा-महाराजासमान खान पाएको छ। राम्रोराम्रो लाउन पाएको छ। दिनहुँ लाग्ने ठाउँमा केही घण्टामै पुग्न र घुम्न पाएको छ। विश्वका प्रायः सबै कुरा घरमै बसीबसी देख्न पाएको छ। कमाउनका निम्ति हजारौँ उपाय पाएको छ। विलासिताका वस्तु भोग्न पाएको छ। अहिलेका मानिस भाग्यमानी हुन्।
पछिल्ला केही वर्षमै भौतिक परिस्थिति यसरी फेरिएका छन्, सोची ल्याउँदा अचम्मै लाग्छ। सबै मानिसको हातहातमा मोबाइल छ। मानिस घरमै बसीबसी विदेशमा रहेका आफन्तसँग वरिपरि भएजसरी कुराकानी गर्छन्। देशविदेशमा भएका प्रगति देख्न सक्छन्। पहिला जीवनभर सिकेर नसकिने जानकारी अहिले तुरुन्तै सिक्न सकिन्छ। अहिलेका मान्छे पहिलाका बूढापाकाभन्दा टाठाबाठा देखिन्छन् जानकारीका हिसाबले।
यसरी हेर्दा अहिलेका मान्छे सुखी हुनुपर्ने हो, हँसिला देखिनुपर्ने हो। गाउँमा टालेको फोहोर लुगा लगाएर बारीको डिलमा बसी थोते मुखले खुलेर हाँस्ने बूढाबूढीलाई सम्झनुस् त! अहिलेका मानिस त्यसरी निर्दोष हाँसो हाँस्न सक्छन्? अहँ, अधिकांशले सक्दैनन्।
जतिजति भौतिक विकास हुँदै गइरहेको छ, मानिसमा तनावको मात्रा उच्च हुँदै गइरहेको छ। अत्यधिक तनाव झेल्न नसकेर मानिसले आत्महत्याको बाटो रोज्न थालेका छन्। आत्महत्याको दर बढ्दो छ।
आत्महत्याको प्रयास गरेर अस्पताल ल्याइएका मानिस बेलाबेलामा आफ्नै आँखाले देख्ने गरेकी छु। यही कारणले मैले आत्महत्याका बारेमा केही अध्ययन गरेँ। विश्वकै आत्महत्याको तथ्यांक पढेपछि त म झनै छक्क परेँ। आत्महत्या गर्न कत्रो आँट चाहिएला! कति धेरै तनावको स्थितिमा हुन्छ होला मान्छे त्यस बेला! मनस्थिति सामान्य भएको अवस्थामा त आत्महत्याबारे सोच्न पनि सकिन्न।
एकदुईजनाले होइन, विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्दो रहेछ विश्वमा। एक वर्षमा सात लाख मानिसले! नेपालमा चाहिँ दैनिक १८ जनाले (वर्षमा छ हजार जनाभन्दा बढी) मानिसले आत्महत्या गर्दा रहेछन्। यीमध्ये ८३ प्रतिशतले झुण्डिएर, १५ प्रतिशतले विषय सेवन गरेर, दुई प्रतिशतले हामफालेर आत्महत्या गर्दा रहेछन्। पानीमा डुबेर, हतियार प्रयोग गरेर, आगो लगाएर, करेन्ट लगाएर वा अन्य तरिकाबाट आत्महत्या गर्नेहरू पनि हुँदा रहेछन्। यो नेपाल प्रहरीको तथ्यांक हो।
मृत्युको मुख्य कारणमध्ये पन्ध्रौँ रहेछ विश्वमा आत्महत्या। १५-१९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण रहेछ। महिलामा तेस्रो प्रमुख कारण रहेछ। आत्महत्याको जोखिम बढी भएका मुलुकमध्ये नेपाल सातौँ स्थानमा पर्दो रहेछ।
महिलाले सजिला र पुरुषले खतरनाक तरिका अपनाउने भएकाले आत्महत्याको प्रयास गर्नेमध्ये पुरुष बढी सफल बन्दा रहेछन्। अझै डरलाग्दो तथ्य त के भने आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ, त्यसको तुलनामा २० देखि २५ गुणा आत्महत्याको प्रयास हुने गरेको रहेछ।
आर्थिक अभाव, असफलताको डर, प्रेममा धोका, सामाजिक भेदभाव, घरेलु हिंसा, धनको लोभ- यस्तैयस्तै कारण हुँदा रहेछन् आत्महत्या गर्नुको। यी कारण यस्ता हुन्, जसलाई निर्मूल पार्नै सकिँदैन। आत्महत्याका प्रायः कारण मानसिक हुन्छन्। अनि मान्छेको मनभित्र के चलिरहेको छ भनेर ऊ आफैँले आफ्नो भावना व्यक्त नगरेसम्म थाहा पाउन सकिँदैन।
तीव्र भौतिक विकासले मानिसको मन शान्त गराउनुको सट्टा झनै चञ्चल गराइरहेको कुरा हामीलाई थाहै छ। यही कारणले त आत्महत्याको संख्या घटाउनु ठूलो चुनौती बन्दै गइरहेको रहेछ।
मानौँ न, प्रेममा धोका पाएर आत्महत्या गर्नेहरूलाई ‘प्रेम नगर’ भन्न त मिल्दैन। असफलताको डर हुनेहरू कोको छन् भनेर पत्ता लगाउन पनि सकिँदैन र ‘सफल बन्नु आवश्यक छैन’ भन्न पनि मिल्दैन।
यी सबै कुरा अध्ययन गर्दै जाँदा भौतिक विकाससँगै मानिसले जीवनको एउटा अनिवार्य पाटोचाहिँ छाडिरहेको छ कि जस्तो लाग्छ। यही कारणले मानिसको जीवनमा रस नै छैन भन्दा फरक पर्दैन। जताततै निराशा नै निराशा भेटिन्छ। मानिस सरलता छाडेर जटिलतातिर लम्किरहेको स्पष्ट देख्न सकिन्छ।
एकदुईवटा उदाहरण लिने हो भने पहिलापहिला मानिस अतिथिलाई देवता मान्थे। अतिथिसेवा गर्ने चलन थियो। घरमा पाहुना आएका बेला रातभर गफ गर्दा पनि धीत मर्दैनथ्यो। कति रस थियो जीवनमा! आज अतिथिसेवाको ठाउँमा होमस्टे भित्रिएका छन्। मानिसहरू कसरी हुन्छ पैसा नै कमाऔँ भन्नेमा छन्। घरमा आएका अतिथिसँग वार्तालाप गर्ने फुर्सद छैन। बरु नआइदिए हुन्थ्यो भन्ने लाग्छ।
हरेक दिन, नभए पनि केही दिनको अन्तरालमा गाउँकै बाजा बजाएर भजनकीर्तन गरी जीवनलाई रसिलो बनाउने समय अब कता गयोगयो!
न खानेकुरा सद्दे छ, न हेर्ने कुरा सद्दे छ, न गर्ने काम सद्दे छ अनि मानिसलाई तनाव नभए के हुन्छ त! त्यो छुटेको अनिवार्य पाटो मान्छेको आध्यात्मिक स्वभाव हो।
बिहान ब्रह्ममुहूर्तमै उठोस्, व्यायाम गरोस्, प्राणायाम गरोस्, सकारात्मक सोच राखोस्, आफ्नो काम ध्यानपूर्वक समयमै गरोस्, चाहिने जति मात्रै बोलोस्, स्वस्थप्रद खानेकुरा खानमा ध्यान देओस्, खर्चमा ध्यान देओस्, सेवा गरोस् – स्वतः फरक भइहाल्छ जीवन।
प्रौढ मानिसहरूलाई यो कुरा थाहा छ। मजाले थाहा छ। थाहा हुँदाहुँदै पनि उसले अवलम्बन गर्न सकिरहेको छैन किनभने उसलाई यसको बानी छैन। अनि बानी बनाउन लामो समय अभ्यास गर्नुपर्ने हुन्छ। या त बच्चा बेलादेखि नै सिक्दै आएको हुनुपर्छ।
आफूले खानुभन्दा पहिला बाहिर कुनै कुकुर पो छ कि भनेर हेर्ने र रहेछ भने आफ्नो भागबाट अलिकति दिने, चराहरूलाई खुवाएर आफू खाने मान्छे त्यतिकै फ्रेस रहन्छ नि।
फुर्सदको समयमा केही समय माटोसँग खेल्ने, फूलहरू लगाउने, पानी हाल्ने – यस्ता क्रियाकलाप गर्ने मान्छे त्यसै फ्रेस रहन्छ नि।
आफूसँग भएकोबाट थोरै रकमले केही किनेर आफ्ना साथी या कसैलाई पनि निःस्वार्थ भावले दिने स्वभाव भएको मान्छे त्यसै फ्रेस रहन्छ नि।
खास ठूलो त केही गर्नै पर्दैन जीवनलाई खुसीयुक्त बनाउन। यही त हो आध्यात्मिकता भनेको। यस्तो कुराचाहिँ सिक्ने र सिकाउने व्यवस्था हुनुपर्छ सानैदेखि अभिभावक र राज्यका तर्फबाट पनि।
अध्यात्मको अझै अलिकति गहिराइमा जाने हो भने सबै तनावको जड राग र द्वेष हो। लोभ, क्रोध, खुसी, दुःख, तनाव, तृष्णा सबै यिनै दुई कुराभित्र अट्छन्।
कुनै कुराको चाहना हुनु नराम्रो होइन। कुनै काम राम्रोसँग गर्ने अभिलाषा राख्नु पनि नराम्रो होइन। चाहेको कुरा सबै पाइन्छ नै भन्ने त छैन। जीवन आफूले सोचजस्तै नै हुन्छ भन्ने पनि छैन। परिस्थिति कहिले प्रतिकूल हुन सक्छ, कहिले अनुकूल। प्रतिकूल परिस्थितिलाई जाओस् भनेर धकेल्न खोज्नु र अनुकूल परिस्थितिलाई तानेर आफैँमा राख्न खोज्नु सबै तनावको जड हो।
अध्यात्मले सिकाउँछ, प्रतिकूल परिस्थितिमा आफ्नोतर्फबाट त्यस परिस्थितिलाई हटाउन सक्दो कोसिस गर्नुपर्छ। तर, वैचारिक दबाब दिएर हैन कि कर्मका माध्यमबाट। अनुकूल परिस्थितिमा मजाले खुसीसाथ बाँच्नुपर्छ, कर्मद्वारा कायम राख्ने प्रयास पनि गर्नुपर्छ तर सधैँ रहोस् भन्ने कामना रहनुहुँदैन। यति त हो कुरो।
भन्न त हामी नेपाल तपोभूमि हो, आध्यात्मिक थलो हो भन्छौँ। विश्वबाटै मानिसहरू अध्यात्मको खोजका निम्ति नेपाल आउने गर्छन्। हामी नेपालीमध्ये अधिकांश यसबाट वञ्चित भइरहेका छौँ।
हामी आफ्ना बालबच्चालाई सफल हुन सिकाउँछौँ। सफल हुनैपर्छ भन्छौँ। पैसा कमाउने तरिका सिकाउँछौँ। धन हुनेहरूलाई महङ्खव दिन्छौँ। आध्यात्मिक पाटो छुटाइदिन्छौँ।
हामी त यही कमजोरीका कारण पछि पर्यौँ नै। अब त कमसेकम हामीले आफ्नो कमजोरी पाटो खोज्नुपर्ने बेला आएको छ। कम्तीमा हरेक स्कुलस्कुलमा एउटा विषय मात्रै अध्यात्म पढाउने हो भने भविष्यमा ‘अध्यात्म-भूमि नेपाल’ भनेर गर्व गर्ने ठाउँ रहन्छ। नेपालको स्वरुप अर्कै बन्दै जान्छ।
मानौँ, कुनै एउटा बच्चा छ। उसलाई बच्चैदेखि पछिसम्मै हरेक कक्षामा अध्यात्म पनि पढाउँदै जाने हो भने के उसले भविष्यमा भ्रष्टाचार गर्ला? पक्कै गर्न सक्दैन। डर हुन्छ नराम्रो काम गर्न यसको प्रतिफल राम्रोसँग बुझ्यो भने।
होइन भने जतिजति भौतिक प्रगति हुँदै जान्छ, मान्छेको मानसिकता भौतिकतातिरै केन्द्रित हुँदै जान्छ र मानिसको हत्या तथा आत्महत्याको दर पनि बढ्दै जान्छ। आर्थिक अभाव, प्रेम या कुनै पनि आत्महत्याको कारण मानसिक हुन्छ। मानसिक समस्याको सम्बोधन अध्यात्मले मात्रै सही तरिकाले गर्न सक्छ।
हामी सबै जनालाई योग, ध्यान, सेवा आदि राम्रो हो भनेर थाहा छ। विश्वमा कुनै पनि मानिस छैन, जसले यी कुरालाई नराम्रो भनोस्। तैपनि हामी यी कुरालाई आफ्नो जीवनमा जोड्दैनौँ। चाहना भएर पनि जोड्न सकिरहेका छैनौँ। आफ्नो यो कमजोरी आफ्ना सन्ततिमा आउन नदिऔँ।