आत्महत्या दर बढेकोमा कांग्रेस महामन्त्री थापा चिन्तित

हिमाल प्रेस २३ असार २०८० १२:२७
34
SHARES
आत्महत्या दर बढेकोमा कांग्रेस महामन्त्री थापा चिन्तित कांग्रेस महामन्त्री गगनकुमार थापा।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा आत्महत्याका घटना बढेकोप्रति चिन्ता प्रकट गरेका छन्।

युवा कलाकारहरूको आत्महत्याको खबर निरन्तर आइरहेको, एकपछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको उनले बताएका छन्।

‘मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ। पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एकपछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखें। एकदमै अत्यास लाग्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

नेपाली राजनीति सही दिशामा अघि बढ्न नसक्दा युवामा निराशा उत्पन्न भएको हुनसक्ने भन्दै उनले नेतृत्वमाथि प्रश्न गरेका छन्।

‘आखिर हामी कहाँ चुक्यौँ? हाम्रो समाज कहाँ चुक्यो? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको संख्या बढिरहेको छ? हामीले यतिका वर्षदेखि कसका लागि संघर्ष गर्‍यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आसा दिन सक्दैन त्यो राजनीतिको के अर्थ? खै हामीले समाजको आवश्यकता बुझेको? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकासबाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो?,’ थापाले प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा साथीको संख्यासँगै मानिसहरूको एक्लोपन बढेको छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा संघर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्‍यौं हामीले?

सामाजिक सञ्जालमा साथीहरू भए पनि वास्तविक रूपमा मानिसहरू टाढिँदै गएकोप्रति उनले संकेत गरेका छन्।

‘सामाजिक सञ्जालमा साथीको संख्यासँगै मानिसहरूको एक्लोपन बढेको छ। मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको छ। मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको छ। मानसिक रूपमा संघर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण गर्‍यौं हामीले? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ,’ उनले भनेका छन्, ‘अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौं। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न। यसमा तपाईं हामी सबैको भूमिका रहन्छ।’

मानसिक स्वास्थ्यसम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकायबाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गर्न उनले समन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ महानगर ३० मा सञ्चालित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा मानसिक स्वास्थ्यका लागि आवश्यक थप सेवाहरू विस्तार गर्ने उनले उल्लेख गरेका छन्।

यहाँबाट पनि नि:शुल्क सेवा लिन सकिने बताउँदै उनले हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नुपर्ने जनाएका छन्।

‘विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धि पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउँन सक्दैनौं भने हामीले गरेको संघर्षको, हाम्रो राजनीतिको के अर्थ?,’ उनले भनेका छन्।

प्रकाशित: २३ असार २०८० १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =