बढ्दैछ आत्महत्याको कहर

हिमाल प्रेस ३० जेठ २०८१ १३:०५
76
SHARES
बढ्दैछ आत्महत्याको कहर सांकेतिक तस्बिर

झापा- कनकाई-१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए। २०७८ भदौ ७ गते राति भएको भयानक घटनाले उनको सपना मात्रै टुङ्गिएन, सुन्दर परिवार नै सखाप भयो। भोलिपल्ट विहान छिमेकीले रबिन र उनकी २९ वर्षीया पत्नी मीना बिक र आठ महिने छोरी सबिना बिकलाई घरभित्रै पासो लागेर मृत्यु भएको दर्दनाक अवस्थामा भेटाए।

उक्त घटनाको एक वर्ष नबित्दै झापाको कचनकबल गाउँपालिका-५ पाठामारीमा एउटै टोलका तीन किशोरीले सामूहिक आत्महत्या गरे। २०७९ साउन ८ गतेको घटना थियो। घर नजिकैको सुनकोशी चिया बगानमा मजदूरी गर्ने १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जलीप् गणेश र १६ वर्षीया कल्पना गणेश दिउँसो एकै समयमा घरबाट सम्पर्कविहीन भए। उनीहरूलाई केही घण्टापछि चिया बगानकै एउटा बयरको रुखको हाँगामा लहरै झुण्डिएर स्वमृत्युवरण गरेको अवस्थामा गाउँलेले फेला पारे।

कचनकबल-४ मा छ महिनापछि अर्को आत्महत्याको भयानक घटना थपियो। प्रेम विवाह गरेको तीन महिनापछि एक जोडीले २०७९ माघ १० गतेका दिन स्थानीय एभरेस्ट चिया बगानभित्रको रुखमा एउटै पासो लगाएर आफ्नै प्राण हरण गरे। आत्महत्या गरेका जोडी थिए-२५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजबंशी। उनीहरूले भागी विवाह गरेको केटी पक्षको परिवारलाई मन परेको थिएन। प्रहरीमा उजुरबाजुर चलेपछि दुबै जना बिछोडिएर आ-आफ्नो घरमा बस्दै आएका बेला अचानक दुबैले आत्महत्याको गलत बाटो रोजे।

झापामा आत्महत्याको घटना डरलाग्दो रुपमा बढिरहेको छ। पछिल्लो समय कम उमेरका किशोरीहरूले समेत सानो निहुँमा सुन्दर जीवन आफैँ सिध्याएका घटना बढेपछि अभिभावकहरू झस्किन थालेका छन्। एक महिनाको अन्तरालमा दुई किशोरीले आत्महत्या गरेपछि रोकथामका लागि सामाजिक जनचेतना बढाउन गत साता मेचीनगरमा अभिभावकहरूले स्थानीय देबेन्द्र खरेलको संयोजकत्वमा सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गर्नुपर्‍यो। ‘आत्महत्याका घटना बढेर अति भइसक्यो, अब चुप लागेर बस्न हुँदैन भन्ने सोचेर सरोकार समिति गठनको निधोमा पुगेका हौं’ संयोजक खरेल भन्छन्।

आत्महत्याको शिकार भएका व्यक्तिका अभिभावकहरू पनि समितिमा जोडिएका छन्। पीडित अभिभावकका तर्फबाट मेचीनगर-७ का पुष्कर ढकाल, मेचीनगर-६ का जितबहादुर खड्का, मेचीनगर-८ का कृष्ण सुवेदी, मेचीनगर-८ का माण्डु धिमाल र मेचीनगर-६ की बिमला दाहाल समितिमा रहेका छन्। समितिले मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीलाई भेटेर नगरमा आत्महत्या रोकथामका लागि तत्काल कार्यक्रम ल्याउन माग गरेको छ।

सत्र वर्षको किशोरी उमेरकी छोरी गुमाएकी पुष्कर ढकाल कम उमेरका बालबालिकालाई आत्महत्याबाट जोगाउन विद्यार्थी, अभिभावक र समुदायमा सचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँछन्। ‘मैले जसरी अरु कसैले पनि कलिलो उमेरकी छोरी गुमाउनु नपरोस् भनेर म आफैँ जागरण अभियानमा होमिएको छु,’ उनले भने, ‘बच्चाहरूसँग हरेक आमाबाबुले नजिक हुनु पर्दोरहेछ। ताकी उनीहरूले आफ्ना दुःख, सुख र समस्याहरू सजिलै सुनाउन सकुन्। परिवार, समाज, जीवन र श्रम के हो भनेर बालबालिकालाई विद्यालय तहमै पढाउन र बुझाउन आवश्यक छ।’

घटना बढेको बढ्यै

आत्महत्याबाट ज्यान गुमाउनेको तथ्यांक कहालिलाग्दो छ। झापामा विगत तीन वर्षमा ८७२ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन सय १४ जनाले आत्महत्या गरेका थिए। जसमा पुरुष २२२ र महिला ९२ जना रहेका छन्। आव २०७९/८० मा ३१७ जनाले आत्महत्या गरेकोमा पुरुष एक सय ८८ र महिला एक सय २९ जना रहेका थिए।

चालु आव २०८०/८१ को जेठ १८ गतेसम्ममा दुई सय ४१ जनाले आत्महत्या गरिसकेको सूचना अधिकारी चन्दले बताउनुभयो। जसमा पुरुष एक सय ५९ र महिला ८२ जना रहेका छन्।जिल्लामा दैनिकजसो आत्महत्याका घटना हुने गरेका छन्। देशभरको बिगत तीन वर्षको तथ्यांक हेर्ने हो भने दैनिक औसत १९ जनासम्मले आत्महत्या गरेको देखिन्छ। आव २०७७/७८ मा देशभर सात हजार १४१ जनाले, आव २०७८/७९ मा सात हजार ९८७ जनाले र आव २०७९/८० मा छ हजार ९० जनाले आत्महत्या गरेका थिए।

आत्महत्याले उठिबास

मेचीनगर-१० खयरडाँगीको कमला राजबंशीको परिवारमा आत्महत्याकै श्रृङ्खलाबद्ध घटनाका कारण उठिबास लागेको छ। वर्ष बिराएर परिवारका एक जनाले आत्महत्या गर्न थालेपछि हाल घरमा ताला लगाइएको छ। सामान्य ज्याला मजदूरी गरेर जीविका चलाइरहेको कमला राजबंशीको परिवारमा उनीसहित तीन जनाले आत्महत्या गरिसकेका छन्।

यही त्रासका कारण घरमा ताला लगाएर परिवारका सदस्यहरू अन्यत्रै गएका हुन्।कमलाकी २६ वर्षीया जेठी छोरी संगीता राजबंशीले वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि मालद्विपमै आत्महत्या गरिन्। उनको शव चाहीँ नेपाल ल्याएर दाहसंस्कार गरिएको थियो। छोरीको अकाल मृत्युवरणले विक्षिप्त बनेकी ४६ वर्षीया कमला राजबंशीले तीन वर्षपछि छोरीको तस्वीर छातीमा राखेर घरभित्रै आत्महत्या गरिन्। पत्नी र छोरीको आत्महत्याले विक्षिप्त ५० वर्षीय नहकुल राजबंशी पिरले रोगाए।

उनको पनि दुई वर्षअघि मृत्यु भयो। अब उक्त घरमा अभिभावक कोही बाँकी रहेनन्। दुई छोरीको विहे भइसकेको छ। दुई छोरामध्ये जेठाको विहे भएको थियो भने एउटा छोरो नाबालक नै छन्। पत्नी माइत गएको बेला नहकुलको जेठा छोरा २७ वर्षीय सञ्जित राजबंशीले समेत यही जेठको पहिलो साता आत्महत्याको गलत बाटो रोजे। काजकिरियापछि घरमा ताला लागेको छ भने मृतक सञ्जितकी एक वर्षको छोरीलाई लिएर पत्नी माइतीको सहारामा पुगेकी छन्।

डिप्रेसन नै मुख्य कारण

मानिसमा आत्महत्या बढ्नुको मुख्य कारण मानसिक बिरामी भएको मनोचिकित्सकहरू बताउँछन्। आवेश र तनाव नियन्त्रण गर्न नसक्दा मृत्युको अनपेक्षित घटना हुने गरेको उनीहरूको निष्कर्ष छ।आत्महत्या कमजोर आत्मबलको उपज मात्र नभएर मानसिक रोग नै भएको विश्व स्वास्थ्य संगठनले स्वीकार गरिसकेको पूर्णटुंग बिर्तासिटी हस्पिटलका मनोचिकित्सक डा. आभाष निरौला बताउँछन्।

‘केही घटनामा एकैछिनको सनकका कारण आत्महत्याको निर्णय गरेको हुनसक्ने देखिन्छ,’ उनी भन्छन्, ‘तर, अधिकांश आत्महत्याका घटनामा उसको मानसिक समस्याको पृष्ठभूमिले भूमिका खेलेको हुनसक्छ। कतिपय व्यक्तिले आत्महत्या अगाडि केही सङ्केतहरू दिएका हुन्छन्। त्यसलाई गम्भीर रुपमा लिएर आत्महत्या हुनबाट बचाउन सकिन्छ।’

मनोसामाजिक, आर्थिक र व्यक्तिगत समस्याका कारण मानिसहरू मानसिक समस्याको चरम अवस्थामा पुग्ने र त्यसलाई थेग्न नसक्दा आत्महत्याको गलत बाटोमा जाने उनको भनाइ छ। यसलाई चिकित्साको भाषामा ‘सिभियर डिप्रेसन’ भनिन्छ। डिप्रेसनको गम्भीर अवस्थाबाट आफुलाई बाहिर निकाल्न नसक्ने व्यक्तिले आफैलाई अन्त्य गर्नसक्ने भएकाले परिवार, समाज र सरकार यस विषयमा सचेत हुनुपर्ने उनको सुझाव छ।

‘कोही व्यक्ति बारम्बार बाँच्न चाहन्न भन्छ, अस्वाभाविक रुपमा ऋणपान तिरेर कहिल्यै नभेटेका आफन्तहरूसँग समेत फोन गर्छ र अस्वाभाविक रुपमा आफ्नो सम्पत्ति दान र वितरण गर्छ’ मनोचिकित्सक डा. निरौला भन्छन्-‘कतै त्यो मानिसले आत्महत्या गर्न लागेको त छैन भनेर शङ्का गर्नुपर्ने हुन्छ। उसले आत्महत्या पूर्वको सङ्केत दिइरहेको हुनसक्छ।’

आर्थिक समस्या, सम्बन्धमा आएको उतारचढाव, जीवनका असफलता र एक्लोपनाका कारण मानिसहरू मानसिक तनावको गम्भीर अवस्थाबाट गुज्रिरहेका हुन्छन्। यस्तो अवस्थामा व्यक्तिहरूलाई आत्महत्याको जोखिमबाट जोगाउन वरिपरिका साथीसङ्गी र परिवारका सदस्यहरूले उनीहरूका कुरा ध्यानपूर्वक सुनिदिने, निरास नबन्न उत्प्रेरणा दिने र ढाडस दिने कार्य गर्न सकिने डा. निरौलाको सल्लाह छ।

पटकपटक आत्महत्याको प्रयास गरिसकेको र गम्भीर डिप्रेसनको शिकार भइरहेको व्यक्तिलाई कमजोर आत्मबल भएको भनेर अवहेलना नगर्न र तत्काल मनोचिकित्सकको उपचारमा जान सल्लाह दिनु उचित हुने उनको सुझाव छ। त्यस्ता व्यक्तिहरूको पहुँचबाट विषादी, डोरी, चक्कुलगायतका सामान टाढा राख्नु पर्ने उनले बताए।

पछिल्लो समय बालबालिका र किशोरकिशोरीमा आत्महत्याको घटना बढेको कारण विद्यालय, समाज र परिवारमा तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो। कुनै पनि तनाव हुने विषय तत्काल साथीसङ्गी र अभिभावकसँग साझा गर्ने वातावरण बनाउन सक्ने हो भने कम उमेरमा हुनसक्ने आत्महत्या रोकिने मनोचिकित्सक निरौला बताउँछन्।

समुदायस्तरमा सचेतनाको खाँचो

कचनकबल गाउँपालिका बाहेक झापाका अरु पालिकाले आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यका विषयमा सचेतनामूलक कार्यक्रम ल्याउन सकेका छैनन्। आत्महत्या रोकथामका लागि चालु आर्थिक वर्षमा कचनकबलले रु. तीन लाख बजेट छुट्याएको थियो। यसबाट विभिन्न सङ्घसंस्थाको सहकार्यमा गाउँगाउँमा पुगेर समुदाय र विद्यार्थीसँग कार्यक्रम गरिएको पालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजबंशीले बताए।

गरिवी र बेरोजगारीले आत्महत्याका घटना निम्त्याउने गरेको सुनाउँदै उनले आगामी नयाँ बजेटमा यस विषयमा अभिभावक, विद्यार्थी र किशोरकिशोरीहरूलाई आवश्यक परामर्श दिन पुग्ने गरी पर्याप्त रकम बिनियोजन गरिने प्रतिवद्धता व्यक्त गरे। जिल्ला प्रहरी कार्यालय झापाले समुदायसँग साझेदारी कार्यक्रमअन्तर्गत केही वर्षदेखि आत्महत्या रोकथामका लागि विद्यार्थी लक्षित अभियान सञ्चालन गरिरहेको जनाएको छ।

‘एसइई परीक्षा सकिएका दिन जिल्लाभरका परीक्षा केन्द्रमा पुगेर ‘म आत्महत्या गर्दिन’ भन्ने संकल्प गर्न लगायौं,’ प्रहरी उपरीक्षक मिलन केसीले भने, ‘समाजमा आत्महत्याको भयावह अवस्था छ। हामीसँग बजेट हुँदैन। तैपनि समुदायसँग मिलेर निरन्तर सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ।’ अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत र पत्रकारहरूले स्थानीय सञ्चारमाध्यममार्फत आत्महत्या रोकथामका लागि विभिन्न सन्देश प्रवाह गरिरहेका छन्।

सहारा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुखसमेत रहेका भएको सामाजिक अभियन्ता महेन्द्र गिरीले जीवनबाट हार खाएको अनुभूति गरिरहेकाहरूलाई जीवन जिउने उत्प्रेरणासहित ढाडस दिनुपर्ने धारणा व्यक्त गर्छन्।

‘जीवनमा मानिसहरूलाई खासै केही दिइरहनु पर्दैन। तर असफल भएर मन आत्तिइरहेको बेला ‘तिम्रो लागि हामी छौँ नि’ भनी ढाडस मात्रै दिए पनि संसार जितेको महसुस हुन्छ,’ सामाजिक सञ्जालमा गिरी लेख्छन्, ‘असफल भए भन्दैमा जिन्दगी नै सकियो भन्ने नसोचौंँ। सुन्दर बिहानीका लािग पनि त अन्धकार रात कटाउनै पर्छ।’

झापामा आत्महत्या प्रभावित परिवारलाई समेटेर सामाजिक जागरण अभियान सञ्चालन गरिरहेका अभियन्ता देबेन्द्र खरेलले चौबीसै घण्टा परामर्श एवम् सहायता उपलब्ध हुने हेल्पलाइन सेवा प्रदान गर्न स्थानीय पालिकाहरूलाई आग्रह गरिएको बताए।

‘एक व्यक्ति र एक संस्था लागेर मात्र आत्महत्या जस्तो गम्भीर समस्याको रोकथाम सम्भव छैन, सचेत नागरिकहरू जुटेर समाजलाई ब्युँझाउन ढिलो भइरहेको छ’ उनी भन्छन्।

स्थानीय पालिकाहरूले सामुदायिक स्वास्थ्य केन्द्रमार्फत मनोचिकित्सक सेवा दिनुपर्ने, सङ्कटमोचन टोलीहरू खटाउनु पर्ने, सार्वजनिक सचेतना अभियान सञ्चालन गर्नु पर्ने, तनाव व्यवस्थापन सम्बन्धी कार्यशाला आयोजना गर्नुपर्ने, टोलटोलमा पुगेर अभिभावक तथा किशोरकिशोरीलाई सामाजिक तथा पारिवारिक जिम्मेवारीका बारेमा परामर्श गर्नुपर्ने उहाँको प्रस्ताव छ।

प्रकाशित: ३० जेठ २०८१ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =