भोजपुर- टेम्केमैयुङ गाउँपालिका-४ नागीले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको छ। शैक्षिक सुधारका लागि शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आईसीटी तालिम दिएको हाे।
वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै, प्रविधिमैत्री पठनपाठनमा जोड दिन तालिम दिएको जनाएको छ। शिक्षक तथा कर्मचारीमा कम्प्युटरसम्बन्धी राम्रो ज्ञान नहुँदा प्रविधिमैत्री शिक्षा गुणस्तरिय हुन नसकेको ठहर गर्दै एक माध्यमिकसहित तीन विद्यालयका शिक्षक तथा कर्मचारीलाई तालिम दिइएको वडाध्यक्ष हर्कराज राईले बताए।
तालिमपश्चात् विद्यालयको कार्यसम्पादनसँगै शैक्षिक सुधार हुने अपेक्षा लिएको उनको भनाइ छ। ‘सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षणमा जोड दिएका छौँ’, वडाध्यक्ष राईले भने,‘शिक्षणलाई प्रविधिमैत्री बनाउँदै शैक्षिक सुधार गर्न तीन महिने तामिल दिएका हौँ,यसबाट शैक्षिक गुणस्तरमा केही सुधार आउँछ भन्ने हामीले अपेक्षा लिएका छौँ।’
तीन महिनासम्म सञ्चालन गरिएको उक्त तालिममा एक सय ३५ जनाको सहभागिता रहेको थियो। सोही अवसरमा कार्यसम्पादनमा सहजता थप्ने उद्देश्यले स्वास्थ्यचौकीका कर्मचारीलाई समेत तालिम दिएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले यसअघि शिक्षण सिकाइ क्रियाकलापलाई गुणस्तरीय बताउनका लागि शिक्षक तथा अभिभावकलाई पनि तालिम दिएको छ। विभिन्न चरणमा यहाँका तीन सय बढी अभिभावकलाई शैक्षिक सुधारका लागि खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिइएको हो। वडा कार्यालयले थालेको अभियानले शैक्षिक सुधारमा टेवा पुग्ने चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पूर्णकुमार राईले बताए।
शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र सरकार जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ। ‘शैक्षिक सुधारका लागि वडाले थालेको काम प्रसंशायोग्य छ’, उनले भने,‘यसरी सामुदायिक विद्यालयलाई लक्षित गरेर यस्ता कार्यक्रम सञ्चालन गर्ने हो भने शैक्षिक सुधारमा धेरै टेवा पुग्छ ।’

                                             
                                             
                                             
                                             
                                             
                                             

