थ्रिस्टार आहारारा पोखरा गोल्डकपको फाइनलमा

हिमाल प्रेस १७ माघ २०८० १८:२२
थ्रिस्टार आहारारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा- प्रशिक्षक विक्रम लामाको सही निर्णयका कारण थ्रिस्टार आहारारा गोल्डकपको फाइनल प्रवेश गर्न सफल भएको छ।

६६ औं मिनेटसम्म जावलाखेल युथ क्लबविरुद्ध गोलरहित बराबरी खेलकोमा प्रशिक्षक लामाले आदित्य शाक्यको स्थानमा दीपेश घलेलाई मैदान छिराए। त्यसको १२ मिनेटमै घलेले गोलको खडेरी तोड्दै सुन्दर गोल गरी टिमलाई फेरि उपाधि नजिक पुर्‍याउन मद्दत गरे।

थ्रिस्टार आहारारामा यसअघि पाँच पटकसम्म उपाधि चुमेको टिम हो। उसले २०६३, ०६७, ०६९, ०७१ र ०७५ सालमा उपाधि चुमेको थियो।

जारी २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा थ्रिस्टारले जावलाखेललाई अन्ततः १-० ले गोलले पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भयो।

क्लबका पूर्व कप्तानसमेत रहेका लामा यसपालि प्रशिक्षक भूमिकामा थिए। उनले प्रतिस्पर्धात्मक खेलमा गोलका केही अवसर खेर गएको प्रतिक्रिया दिए। पोस्ट म्याच कन्फरेन्समा उनले फाइनलमा आर्मी वा चर्च ब्वाइज युनाइटेड जुन आए पनि खेल प्रतिस्पधात्मक हुने अपेक्षा गरे।

जावलाखेलका प्रशिक्षक नरेश थापाले खेलमा हारजित स्वाभाविक भएको बताए। उनले गोलको अवसर दुवै टिमले पाएको तर आफूहरू चुकेको प्रतिक्रिया दिए।

विशाल तामाङ कप्तानीको जावलाखेलबाट राष्ट्रिय टिमका हिसुव थपलियासहित छिरिङ लामा, कीपर अनिश देउला, राष्ट्रिय टिमबाट खेलिसकेका सुदीप गुरुङलगायले खेलेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा ७८ औं मिनेटमा दीपेश आले मगरको मद्दतमा दीपेशले विपक्षी पोस्टको जाली चुमाएका हुन्। उनी म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे।

छैटौं पटकसम्म अर्थात् मनाङ र नेपाल पुलिससरह ६ पटकसम्म उपाधिका लागि उसले शनिबार विभागीय त्रिभुवन क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेताले फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनल बिहीबार हुनेछ। विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्नेछन्।

७५ औं मिनेटमा जावलाखेलका हिसुव थपलियाको प्रहार विपक्षी गोलरक्षक अभिषेक बरालसँग ठोक्किएर रिबाउण्ड भएकोमा प्रदीप बुढाथोकीले प्रहार गरे पनि गोलको दिशा लिन सकेन। प्रदीप दोस्रो हाफपछि शिशिर लेखीलाई रिप्लेस गरेर मैदान छिरेका थिए। त्यसअघि सुनिल खड्काको प्रहार क्रसबार नजिकैबाट बाहिरिन पुग्दा जावलाखेल गोल गर्न चुकेको थियो।

उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई पराजित गरेको थ्रिस्टार क्वार्टरफाइनलमा भुटानी टिम पारो एफसीको चुनौती पन्छाउँदै सेमिफाइनल पुगेको थियो। जावलाखेलले पहिलो खेलमा मछिन्द्र एफसीलाई हराएकोमा क्वार्टरफाइनलमा ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई सडन डेथको सिकार बनाउँदै थ्रिस्टारसँग भेट सुनिश्चित गरेको थियो।

आहारारामा २०६८ मा पहिलो सहभागितामा जावलाखेल फाइनलमा मनाङसँग हार व्यहोरेको थियो। अहिलेसम्म उपाधिमा नाम लेखाउन नसकेको जावलाखेल अहिले प्रतिस्पर्धाबाटै बाहिरिन पुगेको छ।

प्रकाशित: १७ माघ २०८० १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast