मिटरमा हिँड्नै मान्दैनन् पोखरामा ट्याक्सी चालक

हिमाल प्रेस १४ माघ २०८० १८:४२
10
SHARES
मिटरमा हिँड्नै मान्दैनन् पोखरामा ट्याक्सी चालक फाइल तस्बिर।

गण्डकी- गण्डकी प्रदेशसभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजे अगावै प्रदेशसभा सचिवालय पुग्नुपर्ने थियो। आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उनी विरौटाबाट ट्याक्सी चढे।

नदीपुरस्थित प्रदेशसभा भवन नजिक ओर्लिएका अर्याललाई ट्याक्सी चालकले पाँच सय रूपैयाँ भाडा मागे। ट्याक्सीमा आवतजावत गर्नुपर्दा सधैँ चार सय तिरिरहेका उनी ट्याक्सी चालकले भनेजति भाडा दिन तयार भएनन्।

प्रदेशसभा सदस्य अर्यालले आफू सधैँ चार सय तिरेर विरौटाबाट आउने गरेको बताएपछि ट्याक्सी चालक त्यति नै भाडा लिन राजी भए र नदीपुरबाट फर्किए। यसरी प्रदेशसभा सदस्य अर्याल ट्याक्सी भाडामा ठगिनबाट जोगिए।

यो दृष्टान्त प्रदेशसभाको अर्थ तथा विकास समितिले पोखरामा चल्ने ट्याक्सीलाई मिटर प्रणालीमा सञ्चालन हुने व्यवस्था मिलाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको प्रसंगमा समितिका सभापति अर्यालले सो कार्यक्रममा सुनाएका थिए।

गत भदौदेखि पोखरा उपत्यकाभित्र मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गरे पनि ट्याक्सी चालकको मनलाग्दी भाडा लिने प्रवृत्ति अझै नरोकिएको उनले बताए।

‘मिटर प्रणालीको कुरा गरेको भए ट्याक्सी चालकसँग वादविवाद हुनसक्थ्यो, उनले पाँच सय मागे पनि मैले सधैँ तिर्ने गरेको चार सय तिरेर हिँडे,’ सभापति अर्यालले भने, ‘पोखरामा ट्याक्सी भाडाको समस्या पहिलेदेखि कै हो, यो अझै समाधान हुन सकेको छैन, ट्याक्सी व्यवसायमा एकाधिकारजस्तो अवस्था छ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रुले ट्याक्सीलाई चर्को भाडा तिर्नुपरेको गुनासो गरेपछि समितिले यातायात व्यवस्था मन्त्रालयलाई विमानस्थलदेखि राजमार्गसम्म निःशुल्क सटल बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको उनले बताए।

समितिले अबदेखि ट्याक्सीलगायत यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले गरेका कामकारबाहीको प्रभावकारी अनुगमनसमेत गर्ने सभापति अर्यालले बताए।

ट्याक्सी भाडामा देखिएको मनोमानीको अन्त्यका लागि आफूले यातायात व्यवस्था मन्त्रीसँग भेटेर पटकपटक छलफल गरेको उनले बताए। गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार मिटर प्रणालीमा गुड्न तयार भएका ट्याक्सी व्यवसायीले सरकारसँग भएको सहमति उल्लंघन गर्दै आएका छन्।

२०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि यसअघि मिटरमा नचलेका ट्याक्सी गत भदौ १ गतेदेखि मिटरमा सञ्चालन गर्ने दुईपक्षीय निर्णय भएको थियो। यातायात व्यवस्था मन्त्रालयसँगको छलफलमा ट्याक्सी व्यवसायीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी गुडाउने प्रतिबद्धता जनाएका थिए।

उक्त छलफलका क्रममा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा हिँड्न तयार रहेको तर सरकारले ट्याक्सी व्यवसायीको मर्का बुझिदिनुपर्ने बताएका थिए। ट्याक्सी व्यवसायीले बजार महँगी र इन्धनको मूल्यवृद्धिका आधारमा नयाँ भाडादर समायोजन गर्नुपर्ने माग गर्दै आएका छन्।

दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमिको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० र त्यपछि प्रति दुई सय मिटरको १० रूपैयाँ तोकिएको छ। १५ किमिभन्दा बढीको दूरीमा प्रतिकिमि ३७ रुपैयाँ ५० पैसा कायम गरिएको थियो। मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताए।

उनले अनुगमनका क्रममा मिटर प्रणालीमा नचलेको पाइएका ट्याक्सी चालकलाई कारबाहीसमेत गरिएको बताए। ट्याक्सी मिटरमा नहिँड्दा यात्रु ठगिरहेको गुनासो अहिले पनि आइरहेको महाशाखा प्रमुख पौडेलको भनाइ थियो। प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका कतिपय समझदारी अझै कार्यान्वयन हुन नसकेको उनले बताए।

प्रतिबद्धतापत्रमा भाडा तिरेको बिल दिनुपर्ने, ट्याक्सीमा जीपीएस जडान गर्नुपर्ने, चालकको छुट्टै पोसाक हुनुपर्नेलगायत उल्लेख छ। यी कुनै पनि सर्त ट्याक्सी व्यवसायीले लागू गरेका छैनन्। मिटर प्रणालीमा नचल्ने ट्याक्सीको जरिबाना रकमसमेत पहिलेको तुलनामा बढाइएको यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

सुरुमा न्यूनतम दुई हजार एक सयका दरले जरिबाना तिराउने गरिएकामा पछिल्लो समय न्यूनतम जरिबाना पाँच हजार पुर्‍याउने निर्णय गरिएको छ। रासस

प्रकाशित: १४ माघ २०८० १८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast