नेपालको समृद्धिमा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस १३ माघ २०८० १४:४७ | Saturday, January 27, 2024
नेपालको समृद्धिमा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।

सिल्क रोड इन्टरनेसनल थिंकट्यांक एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाधार नेपाल–चीन सहकार्यका आधारस्तम्भका रुपमा रहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई मात्र बलियो बनाउनाका साथै क्षेत्रीय सहयोग र आपसी एकतामा पनि महत्त्वपूर्ण टेवा दिएको बताए।

‘दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम हुन्’, उनले भने,‘साझा सांस्कृतिक सम्पदा तथा सदियौँदेखिका परम्पराले पारस्पारिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको छ।’

नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमूना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा जोड दिए।

चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्त्वपूर्ण साधनका रुपमा उभिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताए।

नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार सी युले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, आपसी विश्वास र रणनीतिक साझेदारीमा आधारित रहेको बताए। दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक साझेदारी स्थापना गरेको उल्लेख गर्दै उनले चीन–नेपाल मित्रताले नयाँ अध्यायको ढोका खोलेको बताए।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरलाई पर्यटकीय नगरी बनाउन गुरुयोजना निर्माणको तयारी गरिएको जानकारी दिँदै मध्यपुरमा चिनियाँ पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए।

प्रकाशित: १३ माघ २०८० १४:४७ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast