बाल नाटक मेलामा सहभागी हुन आह्वान

हिमाल प्रेस ५ माघ २०८० १३:०५ | Friday, January 19, 2024
बाल नाटक मेलामा सहभागी हुन आह्वान

काठमाडौँ– देशैभरिका नाट्यकर्मीहरूको छाता संस्था नाट्यकर्मी महासंघले दोस्रो राष्ट्रिय बाल नाटक मेला-२०८० मा सहभागिताको लागि आह्वान गरेको छ।

फागुन ७ गतेदेखि १६ गतेसम्म हुने मेलामा सहभागिताका लागि देशैभरिबाट संलग्न जानकारी सहित आवेदन दिनुपर्नेछ। विद्यालयमा मञ्चन गरिने नाटकको स्क्रिप्ट उपलब्ध गराउनुपर्ने हुन्छ। त्यसैको आधार या नाटकको रिहर्सल गरेर अन्तिम मञ्चनको लागि छनोट गरिने बताइएको छ। नाटकको लम्बाई ३० देखि ३५ मिनेटसम्मको तोकिएको छ।

नाटकमा बढिमा १२ जना कलाकार सहभागि हुन सक्नेछन्। बालबालिकामा आधारित नाटकलाई प्रोत्साहन गर्ने भनिएको छ।

स्क्रिप्ट बुझाउने अन्तिम मिति माघ १५ गतेसम्म छ। पोस्टरमा भएको क्यूआर स्क्यान गरेर नाटकबारे विस्तृत जानकारी लिन सकिने आयोजकले जनाएको छ।

मेला जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हुनेछ। महोत्सव सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन (प्याब्सन) र नाट्यकर्मी महासंघको आयोजनामा हुन लागेको हो।

नाटक मेलामा १२ वटा विधागत पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितात्मक रुपमा सञ्चालन हुने मेलामा सामुहिक पुरस्कारतर्फ सर्वोत्कृष्ट नाटक, उत्कृष्ट निर्देशन, उत्कृष्ट अनुशासित समुह र दर्शक छनोट पुरस्कार प्रदान गरिनेछ।

व्यक्तिगततर्फ उत्कृष्ट कलाकार सहायक चरित्रतर्फ दुई (एक महिला, एक पुरुष) र शीर्ष चरित्रतर्फ दुई (एक महिला, एक पुरुष) जनालाई पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै प्रविधिकतर्फ उत्कृष्ट मञ्च परिकल्पना र निर्माण, उत्कृष्ट वेषभूषा तथा शृङगार, उत्कृष्ट प्रत्यक्ष संगीत एवम् पार्श ध्वनि, उत्कृष्ट प्रकाश डिजाइनलाई पुरस्कारको व्यवस्था गरिएको छ। सबै विधागत विजेताहरुलाई नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ।

 

प्रकाशित: ५ माघ २०८० १३:०५ | Friday, January 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast