काठमाडौँ- सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले गत शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। ‘विगतलाई अँगाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका २०२४’ आयोजना गरिएको हो।
कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित थिए। उपस्थित दर्शकसँग उनीहरूले आ-आफ्नो अनुभव र बुझाइ बाँडेका थिए। जसले दर्शकलाई निकै प्रोत्साहन गरेको थियो।
कार्यक्रममा वक्ताका रूपमा रहेकी हाइभलयका सह-संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्त्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे बताएकी थिइन्। अर्का वक्ता नेपाल टी कलेक्टिभका सह-संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए। उनले नेपाली युवाहरूले सामना गरिरहेका हालका चुनौती र श्रम संस्कृतिलाई पुनः परिभाषित गर्नुपर्ने बताए।
नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखेका थिए। स्वास्थ्य, धन, शक्ति र राम्रो गर्ने इच्छा सबै महत्त्वपूर्ण कुरा भएको तर अन्ततः जीवनमा साँच्चै के महत्त्वपूर्ण छ भनेर गम्भीर हुनुपर्ने उनको धारणा थियो।
त्यस्तै भूकम्पपीडितहरूलाई सहयोग गरेको तथा महिला सशक्तीकरणबारे हृदयस्पर्शी कथा कोक्रोमाकी संस्थापक तथा सामाजिक अभियन्ता रेवती गुरुङले सुनाएकी थिइन् भने खल्ती डिजिटल वालेटका प्रमुख विनय खड्काले सबैलाई आफूमा विश्वास गर्न, विगतबाट पाठ सिक्न, वर्तमानमा आनन्द लिन र भविष्यका लागि तयार रहन प्रोत्साहन गरेका थिए।
थमेल डटकमका सह-संस्थापक बालकृष्ण जोशीले विश्वव्यापीकरणबारे कुरा गर्दै नेपालमा काम गरेर विश्वभर पैसा कमाउने बारे सुनाएका थिए। यससँगै नेपालको प्रविधि कम्पनी र फ्रीलान्सरहरूले २०२२ मा आधा अर्ब डलरभन्दा बढी आम्दानी गरेको बताउँदै विश्वव्यापीकरणले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याउने बताएका थिए।
वास्तवमा ‘टेड एक्स सफ्टवेरिका’ वक्ताको कुराकानी सुन्ने कार्यक्रम मात्र थिएन। यो त विचारहरूको आदानप्रदान गर्ने र सम्बन्धन बनाउने एउटा प्लेटफर्म थियो। ‘टेडएक्स सफ्टवेरिकामा पाएको अतुलनीय प्रतिक्रियाले हामी हर्षित छौँ’, कार्यक्रमबारे कलेज प्रमुख प्रमोद पौडेलले बताए।
सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेजले नेपालमा शिक्षाको रूपान्तरण गर्न कोभेन्ट्री युनिभर्सिटी, बेलायतसँग सहकार्य गरिरहेको छ। स्थापना कालदेखि नै कलेजले सूचना प्रविधि सम्बन्धी बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी जस्ता स्नातक कार्यक्रमहरू चलाइरहेको छ।