 
                             
                                            धनगढी- गो ड्रिमर्सले आयोजनाको प्रस्ताव गरेको अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो क्यालेन्डरमा समावेश गरेको छ। क्यानले बिहीबार सार्वजनिक गरेको क्यालेन्डरमा आगामी नोभेम्बररडिसेम्बरमा आयोजना हुने गरी अर्जुन ट्रफीलाई समावेश गरेको हो।
गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले धनगढी क्रिकेट एकेडेमीका पूर्व प्रशिक्षक नेपाली क्रिकेटका धरोहर दिवंगत प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजनाको प्रस्ताव गरिएको बताए। प्रतियोगितामा सात प्रदेशका सात क्लबहरूले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
खड्काले आफ्नो सम्पूर्ण जीवन नै क्रिकेटमा समर्पण गरेका थिए। उनको प्रशिक्षकत्वमा हुर्किएका भुवन कार्की, नरेश बुढाऐर, विनोद भण्डारी, प्रदिप ऐरी ,राजु रिजाल, सुनिल धमला, सोनु खड्का जस्ता थुप्रै खेलाडीहरूले नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
भारतको मुम्बईमा बाल्यकाल बिताएका अर्जुन खड्काले त्यहीँ क्रिकेट प्रशिक्षण गरेका थिए। पारिवारिक कारणले धनगढी आएपछि सुरुमा उनले स्थानीय कभर्डहलमा निःस्वार्थरूपमा स्थानीय युवाहरूलाई प्रशिक्षण गराउँथे।
पछि उनले २०७० सालमा धनगढी क्रिकेट एकेडेमीको स्थापना भएपछि मुख्य प्रशिक्षकको रूपमा काम गरे। २०७२ भदौमा उनको निधन भएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 