इलामका किसानलाई चिया रोपाइदेखि प्याकिङसम्मको तालिम

हिमाल प्रेस ८ पुष २०७९ २१:०८ | Friday, December 23, 2022
इलामका किसानलाई चिया रोपाइदेखि प्याकिङसम्मको तालिम चिया टिप्दै श्रमिकहरू। फाइल तस्बिर

इलाम– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएको छ। २ हजार सात सय ९० जना चिया किसानलाई चिया रोप्ने, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत तालिम दिइएको बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले बताए।

हरियो पत्ती संकलन र उत्पादन गर्ने चिया सहकारीमा आबद्ध किसानलाई समूह बनाएर चिया बगानमै काँटछाँट र गुणस्तरीय टिपाइबारे तालिम दिइएको भट्टराईको भनाइ छ।

‘यसअघि पनि चियाका लागि धेरै कार्यक्रम भए तर उद्योगसम्म पुगेका कारण चिया किसानले केही जानकारी नपाएको गुनासो आयो,’ उनले भने,’ अहिले किसानसँगै प्रत्यक्ष रूपमा रहेर पूर्ण प्रयोगात्मक प्रशिक्षण गराउँदै छौँ। व्यावहारिक ज्ञान र सिप एकैपटक सिकाउँदै छौँ।’

१५ देखि ३० जनाको ११ वटा समूह बनाएर प्रत्येक समूहमा २ जना चिया प्राविधिकबाट तालिम सञ्चालन गरिएको हो। फिक्कल, मंगलबारे, इलाम, शान्तिडाँडा, जस्विरे, साँखेजुङका चियाबारीमा नै पुगेर तालिम दिएको उनले बताए।

नेपाल सरकारले लागू गरेको चियाको लोगो लिएका १७ वटा चिया उद्योगमा हरियो पत्ती प्रदान गर्ने किसानलाई पनि बोर्डले तालिम दिएको छ। तालिका बनाएर जिल्लामा छरिएका सबै समूह समूहमै पुगेर प्राविधिकमार्फत चियाको कटिङसहित मौसमअनुसार बोर्डले काम सिकाउँदै आएको जनाएको छ।

प्रकाशित: ८ पुष २०७९ २१:०८ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast