सम्पर्कविहीन भए मर्दी हिमाल पदयात्रामा गएका विदेशी पर्यटक

हिमाल प्रेस १५ पुष २०८० १९:५३ | Sunday, December 31, 2023
सम्पर्कविहीन भए मर्दी हिमाल पदयात्रामा गएका विदेशी पर्यटक

कास्की- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिबार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। मिचल एक्लै पदयात्रामा गएका थिए।

पदमार्गको लो क्याम्पमा माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको पर्यटक सूचना केन्द्रमा गत शुक्रबार उनले आफ्नो नाम दर्ता गराएका थिए। बेपत्ता पर्यटकको खोजीका लागि पोखराबाट प्रहरी टोली त्यसतर्फ शनिबार साँझ नै प्रस्थान गरेपछि अझै पुग्न नसकेको प्रहरीले जनाएको छ।

माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङले स्थानीय पर्यटन व्यवसायी तथा गाउँपालिकाबाट समेत बेपत्ता भएका पर्यटकको खोजी तथा उद्धारको काम भइरहेको जानकारी दिए।

स्थानीय पर्यटन व्यवसायीका अनुसार बेपत्ता पर्यटक मर्दीको भ्युपोइन्ट पार गरेर बेसक्याम्पतर्फ गएको जानकारी प्राप्त भएको छ। मर्दीको हाई क्याम्पबाट आधार शिविर पुग्न चार घण्टा पैदल हिँड्नुपर्दछ। मर्दी हिमाल पदयात्रा पछिल्ला केही वर्षदेखि कहलिएको पदयात्रामा पर्दछ। माछापुच्छ्रे गाउँपालिकाको सिदिङ, धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाले अष्ट्रेलियन क्याम्पबाट मर्दी पदयात्रा सुरु गर्न सकिन्छ। रासस

प्रकाशित: १५ पुष २०८० १९:५३ | Sunday, December 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast