काठमाडौँ- सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदारका शीर्ष नेतासँगको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा टेबुल गराउन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले छानबिन आयोगको अध्यक्ष पूर्वन्यायाधीश हुने पनि जानकारी गराएका छन्।
कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो। युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका थिए। त्यसपछि प्रहरीले आक्रोशित युवाहरूमाथि बल प्रयोग गरेको थियो।
भोलि सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ। उक्त बैठकले यसबारे निर्णय गर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले भने, ‘भोलि बिहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्छ। आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने छ। प्रधानमन्त्रीले गृहमन्त्रीलाई आवश्यक तयारी गर्न निर्देशन पनि दिनु भएको छ।’
सत्तारुढ कांग्रेसको केन्द्रीय समिति बैठकले पनि उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराएको थियो। दुई युवाको ज्यान गएको यो घटनामा सरकार र गृहमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ।