नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु

हिमाल प्रेस ८ पुष २०७९ १६:०९ | Friday, December 23, 2022
नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु फाइल तस्बिर।

भक्तपुर– भक्तपुरस्थित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला डायलासिस सेवा सुरु भएको छ। मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा सो सेवा सुरु भएको हो। अस्पताललाई रोटरी क्लब अफ सांग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा ४ थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै यो सेवा सञ्चालनमा आएको हो।

अस्पताललाई बिहीबार क्लबले ४२ लाख रुपैयाँ नगरपालिकाले २० लाख गरी कूल ६२ लाख रुपैयाँ सहयोगमा ल्याइएका मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् मेयर सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ का पूर्व डिजी किरणलाल श्रेष्ठले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै नगर प्रमुख श्रेष्ठले बताए। ‘जनताको स्वास्थ्यप्रति हामी सचेत छौं, अस्पताललाई कोइकाले १ अर्ब सहयोग गरेको छ, केही वर्षभित्र अस्पताल विस्तार शय्याको सङ्ख्या दुई सय पुर्‍याउने छौं,’ उनले भने।

अस्पतालमा आगामी दुई महिनाभित्र सिटिस्क्यान मेसिन सञ्चालन गर्ने र ब्लड बैंक सञ्चालन गर्ने योजना रहेको उनले बताए। ‘मध्यपुरवासीलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन प्रत्येक वडामा एक डाक्टर र एक नर्स परिचालन गरी ल्यावसहितको सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने छौं,’ उनले भने।

नगरपालिकाकम उपमेयर विजयकृष्ण श्रेष्ठले यसअघि अस्पतालमा तलब खुवाउन नसक्ने अवस्था आएकोमा अहिले त्यो समस्या नरहेको बताए। नगरपालिकाले अस्पतालका लागि छुट्टै ३ करोड ५० लाख रुपैयाँको कोष बनाएको उनको भनाइ छ। ‘नगरबासी उपचारका लागि टाढा जान नपर्ने गरी सेवा विस्तार गरेका छौं,’ उनले भने।

०६१ सालमा स्थापना भएको अस्पताल आजका दिनसम्म मिर्गौलाको बिरामीका लागि डायलासिस सेवा सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको मेडिकल डाइरेक्टर डा. डिके रौशनले बताए।

प्रकाशित: ८ पुष २०७९ १६:०९ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast