गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

हिमाल प्रेस ८ पुष २०७९ ९:२४ | Friday, December 23, 2022
गुल्मीमा स्वास्थ्य बिमामा ३८ प्रतिशत मात्र सहभागी

गुल्मी- गुल्मीमा कूल जनसंख्याको ३८ प्रतिशत मात्र स्वास्थ्य बिमामा सहभागी भएको पाइएको छ। झन्झटिलो प्रक्रिया, जनचेतनाको कमी र बिमाको महत्व नबुझेका कारण स्वास्थ्य बिमामा सहभागी हुनेको संख्या कम देखिएको हो।

स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी धुव्रराज बोगटीले गुल्मीमा अहिलेसम्म कूल ४० हजार एक सय १८ घरपरिवारका ९४ हजार पाँच सय ८९ जनाले स्वास्थ्य बिमा गराएको जानकारी दिए।

राष्ट्रिय जनगणना, २०७८ अनुसार गुल्मीको कूल जनसंख्या दुई लाख ४६ हजार आठ सय ३३ रहेको छ। यो अनुसार जम्मा ३८ दशमलव ३२ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको देखिन्छ।

गुल्मीमा २०७६ सालदेखि स्वास्थ्य बिमा लागु भएको हो। स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ घरपरिवारका सात हजार आठ सय १७ जनाले स्वास्थ्य बिमा गराएका थिए। यसबाट ५३ लाख ४५ हजार रुपैयाँ संकलन भएको थियो।

आव २०७७/७८ मा कूल २१ हजार एक सय ५८ घरपरिवारका ५८ हजार तीन सय ९२ जनाले स्वास्थ्य बिमा गराएका थिए। यसबाट नवीकरणसहित तीन करोड ५८ लाख ९२ हजार रुपैयाँ संकलन भएको थियो।

आव २०७८/७९ मा भने स्वास्थ्य बिमा गराउनेको संख्या घटेको छ। कूल १५ हजार नौ सय ५२ घरपरिवारका २८ हजार तीन सय ८० जनाले स्वास्थ्य बिमा गराएका छन्। यसमा अघिल्लो पटकको नवीकरणसहित चार करोड ७५ लाख ६० हजार रुपैयाँ संकलन भएको स्वास्थ्य बिमा बोर्ड शाखाका प्रमुख दर्ता अधिकारी बोगटीले जानकारी दिए।

गुल्मी अस्पतालमा स्वास्थ्य बिमामार्फत उपचारको सेवा लिने बिरामीको संख्या निकै न्यून छ। आव २०७८/७९ मा सो अस्पतालबाट कूल ६९ हजार चार जनाले उपचारको सेवा लिए पनि २१ हजार छ सय जनाले मात्र स्वास्थ्य बिमामार्फत सेवा लिएको अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए।

यस वर्ष स्वास्थ्य बिमा गराउने संख्या भने बिमा बोर्डले एकीकृत गर्दैछ। यस अवधिमा गुल्मी अस्पतालबाट कूल ४७ हजार चार सय चार बिरामीले स्वास्थ्य बिमामार्फत नभई शुल्क तिरेर उपचार गराएका छन्।

स्वास्थ्य बिमा गराएमा तीन हजार पाँच सय रुपैयाँमा घरका पाँच जनाले एक लाख रुपैयाँ बराबरको उपचार सेवा लिन सक्छन्। स्वास्थ्य बिमामार्फत उपचार गराउने बिरामीले गुल्मी अस्पतालबाट कूल चार करोड ७३ लाख ७८ हजार रुपैयाँ बराबरको सेवा लिएको डा पच्याले बताए।

पछिल्ला वर्षमा तुलनात्मकरुपमा बिमितको संख्या बढ्नुपर्ने हो। अस्थायी बसोबास गर्नेले अन्यत्र स्वास्थ्य बिमा गराएको एउटा कारण हुनसक्ने शाखाको अनुमान छ। सबैलाई स्वास्थ्य बिमामा समेट्न नसकिएको बिमाका दर्ता अधिकारी धुव्रराज बोगटीले बताए।

जिल्लाभर ९३ बिमा दर्ता सहयोगीमार्फत काम भइरहेको छ। स्वास्थ्य बिमाप्रति नागरिकलाई प्रेरित गर्ने काम भने कमै भएको पाइन्छ।

प्रकाशित: ८ पुष २०७९ ९:२४ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast