‘स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ’

हिमाल प्रेस ४ भदौ २०८३ २१:३४ | Thursday, August 20, 2026
‘स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ’ अर्थमन्त्री स्वर्णिम वाग्ले/फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकका जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले स्वास्थ्य बिमाप्रतिको सरकारी धारणाबारे स्पष्ट पारे।

गत वर्ष स्वास्थ्य बिमाका लागि अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको उनले जानकारी दिए। यस वर्षको बजेटमा स्वास्थ्य बिमाको बजेट पाँच अर्ब बढाएर १५ अर्ब पुर्‍याइएको उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बिमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानीअनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शंका रहेको बताए। स्वास्थ्य बिमा कार्यक्रम सरकारी अस्पतालहरूमा निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेको बताए।

यस्तै अर्थमन्त्री वाग्लेले गल्ती नगरी चेक बाउन्सलगायतका कारण ‘ब्ल्याक लिस्ट’मा परेर आर्थिक समस्यामा परेका उद्यमीलाई राहत दिन सरकारले पहल थालेको बताए। ब्ल्याक लिस्टको ‘दुष्चक्र’मा अञ्जानमा फसेकालाई राहत दिने विषयमा राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिए।

अर्थमन्त्री वाग्लेले चेक ‘बाउन्स’का कारण करिब एक लाख ७० हजार नेपाली उद्यमीलगायत आर्थिक रूपमा अप्ठ्यारो परिस्थितिमा परेको उल्लेख गर्दै उनीहरूलाई यस अवस्थाबाट बाहिर निकाल्न पहल सुरु गरिएको बताए।

‘ब्ल्याक लिस्टको दुष्चक्रबाट अन्जानमा फसेकालाई कसरी राहत दिन सकिन्छ भन्नेमा राष्ट्र बैंकले द्रुत गतिमा काम गरोस् भनेर निर्देशन दिएको छु,’ उनले भने।

नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावललाई बधाई दिने क्रममा समेत आफूले उक्त विषयलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको जानकारी दिँदै उनले राष्ट्र बैंकले आवश्यक काम अघि बढाउँदा अर्थ मन्त्रालयको पूर्ण साथ रहने बताए।

ब्ल्याक लिस्टको समस्या विगत केही वर्षदेखि चर्किंदै गएको र त्यसका कारण उद्यमीको उठिबास लाग्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे।

प्रकाशित: ४ भदौ २०८३ २१:३४ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast