गोपाल योञ्जनका गीतको संग्रह सार्वजनिक

हिमाल प्रेस ८ पुष २०७९ ७:२१ | Friday, December 23, 2022
गोपाल योञ्जनका गीतको संग्रह सार्वजनिक

कास्की- नेपाली संगीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको संग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ।
पोखरामा भइरहेको दशौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीद्वारा हिजो पुस्तकको विमोचन गरिएको हो।

पुस्तकमा योञ्जनले लेखेका दुई सय ४१ गीत समावेश रहेको प्रकाशक संस्था फाइन प्रिन्टले जनाएको छ। पच्चीस वर्षदेखिको खोज र संकलनपछि गीत संग्रह ‘गोपालय’ तयार भएको योञ्जनकी पत्नी रिञ्छेनले बताइन्।

यस संग्रहमा योञ्जनको चर्चित ‘मेरो गीत मेरै प्रतिविम्ब हैन’ लगायत गीत समावेश छन्। योञ्जनले लेखेका मायाप्रेम, आध्यात्म, दर्शन, बाल मनोविज्ञान, नारी सचेतना र राष्ट्रभक्तिले ओतप्रोत गीत सङ्ग्रहित गरिएको धर्मपत्नी रिञ्छेनले उल्लेख गरिन्।

गीत संग्रह निकाल्ने धेरै पहिलेदेखिको आफ्नो सपना पूरा भएको भन्दै उनले योञ्जनमाथि अझ धेरै काम गर्न बाँकी रहेको बताइन्।

योञ्जनका गीत र व्यक्तित्वबारे कवि विप्लव प्रतीकले आफ्नो धारणा राखे। योञ्जनलाई कविका रुपमासमेत उनले चिनाए। योञ्जनका गीतमा कवितात्मक भाव, शैली र सामार्थ्य पाइने प्रतीकको भनाइ थियो । कार्यक्रममा योञ्जनद्वारा रचित र सङ्गीतबद्ध गीतलाई गायक कर्म ग्याल्जेन र गायिका वानिका प्रधानले प्रस्तुत गरेका थिए।

योञ्जनको २५औँ स्मृति वर्ष पारेर फेस्टिभलमा उनका गीतको सांगीतिक प्रस्तुति ‘गोपालय’ पनि राखिएको थियो। ‘यति चोखो, यति मिठो’, ‘हिमालसरि म’, ‘तिम्रो जस्तो मुट’लगायत योञ्जनका चर्चित गीत कार्यक्रममा प्रस्तुत गरिएका थिए।

प्रकाशित: ८ पुष २०७९ ७:२१ | Friday, December 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast