काठमाडौँ– प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुपले आफ्नो ५०औँ वार्षिकोत्सव मनाएको छ। यस अवसरमा ग्रुपअन्तर्गतको एक कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० जनाभन्दा बढी बालबालिकलाई स्टेशनरीलगायत अन्य सामग्री उपलब्ध गराएको छ। हुण्डाई नेपालले लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको छ।
वार्षिकोत्सवको अवसरमा लक्ष्मी ग्रुपअन्तर्गतका अन्य कम्पनीले पनि संस्थागत सामाजिक उत्तरदायित्वमार्फत थुप्रै कार्यक्रम आयोजना गरेका छन्। ग्रुपले गरेको रक्तदान कार्यक्रममा एक सयभन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए।
त्यस्तै नक्साल भाटभटेनी मन्दिर परिसरमा सरसफाइ पनि गरिएको छ। ग्रुपअन्तर्गतको सुजल डेरीले गैरीधारामा रहेको होप हेरिटेज एल्डर केयरमा दिवा खाजाको व्यवस्था गरेको थियो। सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रूपमा स्थापना भएको व्यवसाय अहिले लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी, होम अपलाइन्सेसलगायतमा अगणी कम्पनी बनेको छ।