महाभारतमा डेढ बर्षसम्म सडक निर्माण अलपत्र

हिमाल प्रेस ५ पुष २०८० १०:१३ | Thursday, December 21, 2023
महाभारतमा डेढ बर्षसम्म सडक निर्माण अलपत्र

काभ्रे- काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (डाँडापारि)मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे-देवीटार सडकखण्डको आठ दशमलव सात किलोमिटर सडकखण्ड निर्माण करिब डेढ वर्षदेखि अधुरो अवस्थामा छ।

कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ।

निर्माण व्यवसायीको लापरवाही तथा ढिलासुस्तीका कारण वर्षात्को समयमा चार महिनासम्म उक्त सडक अवरुद्ध बनेको स्थानीयले बताएका छन्।

विसं २०७९ असार मसान्तसम्म अवधि रहेको उक्त सडकखण्ड निर्माणको ठेक्का लिएको श्रेष्ठ सक्षम जेभी कम्पनीलाई पटक-पटक मौखिक र लिखितरूपमा ताकेता गर्दा बेवास्ता गरेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय तथा पूर्वाधार विकास कार्यालयलाई पनि जानकारी गराइएको थियो।

उक्त मंगलटर-चारकिल्ला-तीनखुट्टे-बनखु सडक आयोजनाको विसं २०७७ असोज २० गते बागमती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले तीनखुट्टेमा शुभारम्भ गरेको थियो।

सडक अभावमा विकट मानिएको महाभारत गाउँपालिकाको तीनखुट्टे-देवीटार सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रका लागि  ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। म्याद सकिँदासम्म उक्त आयोजनाको ५० प्रतिशत निर्माण भएको छ।

उक्त सडकखण्डमा सडक स्तरोन्नतिअन्तर्गत नाली निर्माण, रिटेनिङ वाल, ग्याविंग वाल, कजवे, कल्भर्टलगायतका संरचनासँगै ३० एमएमको कालोपत्र गरिने योजना बनाइएको थियो। ‘पक्की सडक निर्माण भएपछि महाभारत क्षेत्रको विकास र समृद्धिमा थप मद्दत पुग्ने अपेक्षा गरेका थियौँ’, अध्यक्ष जिम्बाले भने। रासस

प्रकाशित: ५ पुष २०८० १०:१३ | Thursday, December 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast