मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : निर्धारित लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु

हिमाल प्रेस ४ पुष २०८० १८:५१
16
SHARES
मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने :  निर्धारित लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताएका छन्। कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको आज भएको संयुक्त वार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताए।

‘आज दुई मन्त्रालयको मन्त्रालयगत अवस्था, त्यसको समग्र स्थितिबारे जानकारी लिइयो, यो आफैँमा महत्वपूर्ण छ, मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हुँदैछ । कार्य तालिका नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचमा छु’, प्रधानमन्त्री दाहालले भने ‘एक वर्षमा हामीले कति काम गर्‍यौँ कहाँ के कति समस्या रहे, त्यसको गम्भीर अध्ययन गरेर भाबी योजना बनाउँछु।’

प्रधानमन्त्री दाहालले अब नियमितरूपमा छलफल, समीक्षा र मूल्याङ्कन सुरु गरिने बताए। ‘जनतालाई परिणाम दिने मुख्य विषय हो, जति राम्रो परिणाम दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ, हामीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ।’

देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य संयन्त्र कृषि र भूमि भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले कृषिलाई विकासको मूल आधार र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न नसकिए समृद्धि हासिल गर्न नसकिने बताए।

उनले भने, ‘जलविद्युत् र उद्योग पनि महत्वपूर्ण छन्। उद्योग पनि कृषिमा आधारित छन् । कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापनलाई केन्द्रमा राखेर काम गर्नुपर्छ।’

रासायनिक मलका लागि सधैँ विदेशी उत्पादकको मात्रै भर पर्न नसकिने जनाउँदै प्रधानमन्त्री दाहालले अब स्वदेशमा नै मल कारखाना स्थापना गर्नेतर्फ सोच्नुपर्ने बताए।

रासायनिक मलको मात्रै भर नपरी कम्पोष्ट मलको पनि अधिकतम उपयोग गर्ने नीति बनाइनुपर्नेमा उनको जोड थियो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट विगतकोभन्दा भिन्नरुपमा तर्जुमा गर्नुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्रीले त्यसका लागि चाँडै सरोकारवालासँग छलफल गरिने बताए।

प्रकाशित: ४ पुष २०८० १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast