काठमाडौँ– विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ लाई बेलायतको लफबोरो विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ। पुर्जाले आरोहणका क्षेत्रमा प्राप्त गरेको अविश्वसनीय उपलब्धिलाई सम्मान गर्दै विश्वविद्यालयले आफ्नो शीतकालीन दीक्षान्त समारोहमा उक्त उपाधि दिएको हो।
दीक्षान्त समारोहमा विश्वविद्यालयप्रति कृतज्ञता प्रकट गर्दे पुर्जाले भने, ‘शिक्षामा जीवन र समुदाय परिवर्तन गर्ने शक्ति हुन्छ। त्यसैले शिक्षा मेरो परोपकारी निम्स दाइ फाउन्डेसनको मुख्य स्तम्भ हो, जुन मैले मेरो जन्मभूमिका पहाडी समुदायलाई फर्काउन मद्दत गर्ने उद्देश्यले स्थापना गरेको छु।’ उनले आफू लफबरोको पूर्वछात्र हुन पाउँदा गर्व लागेको भन्दै दीक्षित विद्यार्थीलाई ठूलो सपना देख्न पनि सुझाव दिए।
समारोहमा लफबरो युनिभर्सिटीका उपकुलपति प्रोफेसर निक जेनिङ्सले निर्मलका उपलब्धिहरू सर्वत्र प्रेरणादायक रहेको बताए। उनले भने, ‘यदि तपाईँसँग आफ्नो लक्ष्यमा पुग्ने दृढ सङ्कल्प र साहस छ भने त्यो सम्भव हुन्छ भनेर पुर्जाले देखाएका छन्। हामी अविश्वसनीय रूपमा गर्व गर्छौँ कि उनी लफबरो समुदायको हिस्सा हुन् र हामी उनका उपलब्धिलाई मानार्थ विद्यावारिधिका साथ पहिचान गर्न सक्षम भएका छौँ।’
पुर्जा लफबरो विश्वविद्यालयका पूर्वछात्र पनि हुन्। उनले विश्वविद्यालयको बिजनेस स्कुलबाट सन् २०१४ मा सुरक्षा व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गरेका थिए।
सन् २०१९ मा उनी पहिलो पटक छ महिना, छ दिनमा विश्वका १४ वटा ‘डेथ जोन’चुचुरो आरोहण गरेपछि सार्वजनिक चर्चामा आएका थिए। उनको अविश्वसनीय यात्रा सन् २०२१ को नेटफ्लिक्स फिल्म ‘१४ पिक्स ः नथिङ इज इम्पोसिबल’ मा कैद गरिएको थियो।
नेपालमा जन्मेका पुर्जाले १६ वर्ष बेलायती सेनामा बिताएका थिए। जसमध्ये उनले ६ वर्ष गोर्खा रेजिमेन्ट र १० वर्ष बेलायतको विशेष बलमा सेवा गरे। उनलाई बेलायतकी तत्कालीन महारानी एलिजाबेथ द्वितीयाबाट ‘एमबीई’ उपाधि पनि प्राप्त छ। त्यसैले उनी निर्मल पुर्जा ‘एमबीई’ भनेर पनि चिनिन्छन्।