तीन महिनामा ४ खर्बको वस्तु आयात, ४१ अर्ब ८२ करोडको निर्यात

हिमाल प्रेस ३० कार्तिक २०७९ १२:०९ | Wednesday, November 16, 2022
तीन महिनामा ४ खर्बको वस्तु आयात, ४१ अर्ब ८२ करोडको निर्यात राष्ट्र बैंक

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को तीन महिना (साउन–असोज) मा ४ खर्ब १ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ।

यो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार साउन–असोजमा मुलुकलाई ३ खर्ब ५९ अर्ब १८ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यो अवधिमा निर्यात-आयात अनुपात १०.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत थियो।

चालु आवको पहिलो तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले र आयात १६.२ प्रतिशतले कमी आएको छ। गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५ प्रतिशत र ३५ प्रतिशतले कमी आएको छ। राष्ट्र बैंकका अनुसार अन्य मुलुकतर्फको निर्यात ५ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, तयारी पोशाक, चियालगायत वस्तुको निर्यात बढेको छ। सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहनालगायत वस्तुको निर्यात घटेको छ।

भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, कोइलालगायत वस्तुको आयात बढेको छ। सवारीसाधन तथा स्पेयर पार्टपूर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्टस्, कच्चा सोयाबिन तेल, एमएस तार, छड, क्वाइललगायत वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ १२:०९ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast