पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

हिमाल प्रेस ७ पुष २०७९ १४:२९ | Thursday, December 22, 2022
पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने प्रतीकात्मक तस्बिर।

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन बन्देज गरिएको छ।

सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै बिना अनुमति पाथीभरा क्षेत्रमा ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज लगाइएको हो।

धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपनीयतामा असर पर्ने भएकाले पाथीभरा क्षेत्र विकास समितिले सम्बन्धित निकायको अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाउने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै अनुमति बेगर पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन नपाइने निर्णय गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताए। समितिले सार्वजनिक सूचना आह्वान गरेको छ।

२०७२ मा जारी भएको ड्रोन उडान कार्यविधिमा धार्मिक तथा सांस्कृति सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर तथा व्यक्तिगत गोपनीयतामा असर गर्नेगरी उडान गर्न नपाइने उल्लेख छ।

अनुमति लिने व्यक्ति वा संस्थाले ड्रोनको विवरण, उद्देश्य र उडान समयको विवरण अनिवार्य सम्बन्धित सबै निकायमा पेस गर्नैपर्ने प्रावधान छ। कार्यविधिअनुसार सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रको एक किलोमिटर क्षेत्रमा पनि उडान गर्न पाइँदैन।

ड्रोन उडाउने अनुमतिका लागि गृह मन्त्रालय, सञ्चार मन्त्रालय र नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृतिपत्र तथा व्यावसायिक प्रयोजनका लागि सम्बन्धित मन्त्रालयले ड्रोन उडानको सिफारिस गरेको पत्रसाथ व्यक्ति वा संस्थाले लिखित निवेदन दिनुपर्ने हुन्छ।

पाथीभरा क्षेत्रमा विभिन्न संस्था तथा व्यक्तिले आफू खुसी पाथीभरा क्षेत्रमा ड्रोन क्यामरा उडाउन थालेसँगै सम्बन्धित निकायको बिना अनुमति ड्रोन क्यामराबाट तस्बिर तथा दृश्य सामग्री उत्पादन गर्न बन्देज गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

प्रकाशित: ७ पुष २०७९ १४:२९ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast