छोरो रिहाइको खबर आउने आसमा रातोदिन समाचार सुनिरहन्छन् विपिनका बाआमा

हिमाल प्रेस १३ मंसिर २०८० २१:३५ | Wednesday, November 29, 2023
छोरो रिहाइको खबर आउने आसमा रातोदिन समाचार सुनिरहन्छन् विपिनका बाआमा बिपिन जोशी। फाइल तस्बिर

कञ्चनपुर- इजरायल र आतंकवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ।

हमासले पटकपटक विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन्। आज (बुधबार) गृहजिल्ला आइपुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन्। ‘कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु,’ आमा पद्माले भनिन्।

विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन्। उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ। विपिनका बुबा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गरेका छन्। उनले भने, ‘सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ।’ -रासस

प्रकाशित: १३ मंसिर २०८० २१:३५ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast