काठमाडौँ- क्यानडाका प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्। उनीविरुद्ध कर्मचारीको कोटामा विदेशमा अध्ययनरत छोरीलाई छात्रवृत्ति दिएको आरोप लगाइएको हो।
समितिले कात्तिक १५ गते पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो। उजुरीमा सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा पौड्यालले आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ। सँगै अर्को उजुरीमा उनीमाथि नैतिकताको पनि प्रश्न उठाइएको हो।
आफ्नी छोरीलाई सरकारी कर्मचारीका लागि प्राप्त छात्रवृत्तिमा पढाएर कूटनीतिक व्यक्तिले गर्नै नहुने अक्षम्य काम गरेको आरोप लागेको र उनी स्वयं राजदूत हुँदा उनले क्यानडामा के गर्लान् भन्ने प्रश्न उठेको छ। ‘नेपाल सरकारबाट आउने स्विट्जरल्याण्डको ‘मास्टर्स अफ एड्भान्स स्टडिज युरोपियन एण्ड इन्टरनेसनल गभर्नेन्स स्कलरसिप’ कर्मचारीलाई नदिएर आफ्नो छोरी पल्लभी पौड्याललाई दिलाएको उजुरीमा उल्लेख छ,’ समितिका एक अधिकारीले जानकारी दिए।
उनको छोरी कर्मचारी नभएर विदेशमा पढ्ने विद्यार्थी हुन् भन्दै त्यस्तोमा पनि लालच गर्ने अधिकारीले कसरी मुलुकको हितमा काम गर्लान् भन्ने प्रश्न उजुरीमा छ। उजुरीकर्ताको दाबीअनुसार उक्त छात्रवृत्तिअन्तर्गत प्रतिमहिना ६ लाख रकम प्राप्त हुने भएकाले त्यो उनीमा छोरीमोह जागेको हो।
छात्रवृत्तिको अवधि पनि २ वर्षको रहेको भन्ने छ। हुन त परराष्ट्र मन्त्रालयमा उनले फेड्रिक एवर्ट स्टिफ टुङ (जर्मन थिंक ट्यांक)को नवीकरण गर्ने समयमा पनि ‘आफूलाई के हुन्छ’ भनेर सोधनी गरेको तर पछि नवीकरणसँगै उनी फेड्रिक एवर्टअन्तर्गतका कार्यक्रममा विदेश सयर गरेको फेड्रिक एवर्टका एक अधिकारीले सार्वजनिक स्थानमै सुनाएका थिए।
उजुरीकर्ताले उजुरीमा नेपाल सरकारका कर्मचारीले छात्रवृत्तिपछि फर्केर देशको सेवा गर्न महत्त्वपूर्ण यो कोर्स दुरुपयोग गरेर यिनले छोरीलाई दिएकाले ‘प्रस्तावित राजदूत’ ले राष्ट्रघात गरेको उल्लेख गरेका छन्। यस्ताले राजदूत भएर क्यानडा गएपछि कन्सलटेन्सीको काम गर्न सक्ने भन्दै यस्तो विषयमा गम्भीर हुन उजुरीकर्ताले सचेतसमेत गराएका छन्।
साथै परराष्ट्र सेवाबाट राजदूत सिफारिस गर्दा सेवा अवधि बाँकी रहेकाहरूलाई अवसर दिइनुपर्नेमा सेवानिवृत्त हुन लागेका व्यक्तिलाई पठाउने परम्परा रोक्न पनि भनिएको छ। परराष्ट्र सेवामा रहँदा केही पनि उल्लेख्य काम नगरेकालाई किन पुरस्कृत गर्दै राजदूतमा पठाउने भन्ने प्रश्न पनि उठाइएको छ। छिमेकी भारतमा सेवा निवृत्तलाई राजदूत बनाउने चलन नै छैन। राजदूतमै रहेकाहरू पनि सेवा निवृत्त भएको भोलिपल्ट निवास फर्कनुपर्छ।
गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी पौड्याललाई राजदूत सिफारिस गरेको हो। राजदूत किन क्याबिनेट मन्त्री सरहको हुनु पर्ने? त्यो पनि क्यानडामा। हवाई यात्रा गर्न मन्त्री सरहको हुँदा बिजनेस क्लासको सिट पाउने हुनाले परराष्ट्रमा रहनेले सकेसम्म यो चलाखी गर्छन्।
परराष्ट्रसचिव रहेका पौड्याल २० मंसिरमा सेवानिवृत्त हुँदैछन्। हुलाक सेवाबाट परराष्ट्र आएका उनी मन्त्रालयमा घुलमिल हुन नसक्ने अधिकारीको रूपमा चिनिन्छन्। उनी आफूलाई निकै आदर्शवादी देखाउने तर नायव सुब्बा/अधिकृतको कोटामा आफैँ पनि विदेश सयर गर्ने परराष्ट्र सचिव हुन्।
बाहिर मीठो शैलीमा बोल्ने तर मन्त्रालयमा कसैलाई विश्वास नगर्ने कार्यशैलीले नै उनी कर्मचारीको कोटामा राजदूत हुन पाएका थिएनन्। कर्मचारीहरूलाई राजदूत सिफारिस गरेपछि कांग्रेसले लिएको कोटामा के तन्तु मिलाएर सिफारिस भए भन्ने विषय पनि गम्भीर छ।


