इटहरी- शान्तिसुरक्षा तथा मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण सुनसरीमा हुन लागेको दुईदिने मुस्लिम सभा गृह मन्त्रालयले रोक लगाएको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्यक्रम नगर्न आयोजक समितिलाई लिखित पत्र पठाएको थियो।
प्रशासनको पत्र प्राप्त गरेसँगै मुस्लिम अगुवाहरू सुनसरीमा हुन लागेको इज्तेमा तत्काललाई स्थगन गर्ने निर्णय गरेका छन्। इटहरीको खनार र दुहबीमा सोमबारदेखि हुन लागेको इज्तेमा देशको विषम् परिस्थितिलाई मध्यनजर गर्दै तत्काल स्थगन गर्ने निर्णयमा पुगेको आयोजकहरूले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
करिब दुई महिनादेखि भव्य तयारी गरिएको कार्यक्रमबारे स्थानीय प्रशासनलाई मौखिक जानकारी गराए पनि ठोस निर्णय नआएकै कारण दुई स्थानमा झण्डै ३ करोड बराबरको लगानी नोक्सानी भएको खनारस्थित इस्तेमा समारोह मूल आयोजक समितिका संयोजक तैयव हुसेनले जानकारी दिए। आमन्त्रितका लागि खाने, बस्ने, शौचालय तथा सभाहरू निर्माण सम्पन्न भइसकेको उनले बताए।
खनारमा मंसिर ५ देखि ७ र दुहबीमा ७ देखि ९ गतेसम्म मुस्लिम सभा इज्तेमा कार्यक्रम आयोजना गर्न लागिएको थियो। दुवै कार्यक्रममा करिब दुई लाख मानिसहरू सहभागी हुने अपेक्षा गरिएको थियो भने प्रतिष्ठित इस्लाम धर्मगुरुहरूले प्रवचन दिने कार्यक्रम थियो।