काठमाडौँ- पछिल्ला केही दिनयता माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट बाक्लिएको छ। दुई नेताबीच पार्टी एकताका विषयमा केन्द्रित रहेर छलफल हुने गरेको नेसपाका एक नेताले जानकारी दिए। छलफलका लागि भट्टराई आफैँ प्रधानमन्त्री निवास बालुवाटारमा पुग्ने गरेका छन्।
पार्टी एकता वार्ता समिति बैठकले आइतबार दुवै पार्टीलाई एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको थियो। तर समितिको सो निर्णय नआउँदै प्रचण्ड र भट्टराईबीच प्रधानमन्त्री निवासमै भेटवार्ता भएको नेसपाका ती नेताले बताए। ती नेताले भने, ‘पार्टी एकता विषयमा प्रचण्ड र बाबुरामबीच केही दिनअघिदेखि भेटवार्ता भइरहेको छ। उहाँहरूबीच जतिबेला पनि भेटवार्ता हुनसक्छ।’
भेटवार्तामा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई तत्काल मूर्त रूप दिन प्रस्ताव गर्दै आएका छन्। भट्टराईले भने नयाँ रूपान्तरणसहित लिखित सहमति खोजेको ती नेताले जानकारी दिए। उनका अनुसार भट्टराईले संस्कार, सोच, कार्यशैली र व्यवहारमा रूपान्तरणसहितको वैकल्पिक शक्ति चाहेको बताउँदै आएका छन्।
प्रचण्डसँग भट्टराईको भनाइ उधृत गर्दै ती नेताले भने, ‘तपाईंले पार्टी एकता भनेर नेपाल समाजवादी पार्टीबाट केही मानिस ल्याउन चाहनुभएको हो भने ल्याउनुहोस्। तर त्यसो होइन र नयाँ ढंगले रूपान्तरण हुनैपर्छ। पुरानै ढर्राबाट अब अगाडि बढ्न सकिँदैन।’
नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव माओवादीसँग तत्काल एकता गर्न चाहेका छन्। उनी गत प्रतिनिधिसभा सदस्य चुनावमा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका थिए। साथै गठबन्धन सरकारमा यादव खानेपानीमन्त्री छन्।
उनी निकट एक नेता भन्छन्, ‘महिन्द्र राय यादव तत्काल माओवादीसँग एकताको पक्षमा हुनुहुन्छ। माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव जितियो। संसदीय दलमा पनि म एकजना। नेपाल समाजवादी पार्टी भन्न पनि नैतिक रूपमा अप्ठेरो परेको छ भन्नुभएको छ।’ नेसपाका सहअध्यक्षसमेत रहेका पार्टी एकता वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले भने बाबुरामसहित माओवादीमा जानुपर्ने बताउँदै आएको ती नेताको भनाइ छ।
नेसपा र माओवादी केन्द्रबीच एकता वार्ता समितिको आइतबार बसेको बैठकले दुवै पार्टीलाई एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको थियो।
नेसपा वार्ता समिति संयोजक श्रेष्ठले दुवै पार्टीलाई एकता संयोजन समिति गठन र दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधार अगाडि बढ्ने निर्णय भएको जानकारी दिए।
बैठकले पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरुप अगाडि बढ्ने गरी सुझाव दिने निर्णय गरेको छ।
एकता संयोजकमा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा छन्। नेसपा केन्द्रीय समिति बैठक आगामी बुधबार र बिहीबार बस्दैछ।