प्रतिनिधिमूलक तस्बिर
बागलुङ- पछिल्लो ९ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् । चितुवा र दुम्सीको आतङ्कले हैरान बनाएको छ ।
चितुवाले सापकोटाको दुई बोका र एक पाठी, स्थानीय रत्न परियारको तीन बोका-बाख्रा, नारायण सापकोटाको दुई, मेहन्द्र हमालको दुई र गङ्गाबहादुर ठकुरीको दुई बाख्रा–पाठामा क्षति पुर्याएको छ ।
जैमिनीको ग्रामीण क्षेत्रमा चितुवा र दुम्सीको बढ्दो आतङ्कका कारण पशुपालन र अन्न बाली सङ्कटमा पर्न थालेको छ । चितुवाले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि किसानले खर्कमा पशु चराउन छाड्नुपर्ने बाध्यता रहेको सापकोटा बताउछन् ।
“अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा स्थानीयवासी भए पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतङ्क बढ्न थालेको हो,” सापकोटाले भनर् “हाम्रो गाउँमा बसाइँसराइ छैन छिमेकी गाउँ रित्तिँदा खेतबारी झाँडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थाल्यो ।” किसानले बारीमा पुगेर बाँदरलाई धपाउन सक्ने भए पनि चितुवा र दुम्सीसँग केही नलागेको उनको भनाइ छ ।
चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रा आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि किसान थप समस्यामा परेको अर्का बाख्रापालक किसान रत्न परियारले गुनासो गरे। उनले चितुवा लखेट्ने कुकुर जैमिनी नगरपालिकासँग माग गरेको बताए ।
आठ वर्षदेखि पशुपालन व्यवसायमा संलग्न गङ्गाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पाल्दै आए पनि अहिले बाख्राको सङ्ख्या घटाउँदै आएको बताए । जैमिनी नगरपालिकामा बसाइँसराइ उच्च रहेपछि बाँझो जग्गा बढ्दा बाँदर, चितुवा र दुम्सीले बाँकी रहेका स्थानीयलाई समस्यामा पारेको छ ।
जैमिनी नगरपालिकामा बसाइँसराइ बढेपछि झाडी विस्तार भएको छ । त्यसले किसानलाई समस्या पारेको छ । जैमिनी नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी रहेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले जानकारी दिए ।



