आज दसैँको आठौँ दिन : महागौरीको पूजाआराधना गरिँदै

हिमाल प्रेस १ कार्तिक २०८३ ५:२९ | Sunday, October 18, 2026
आज दसैँको आठौँ दिन :  महागौरीको पूजाआराधना गरिँदै महोत्तरी गाउँपालिका–१, पर्सास्थित दुर्गा मन्दिरमा स्थापना गरिएका दुर्गामातालगायतका देवीदेवताका मूर्ति। तस्बिर : रासस

काठमाडौँ-  बडा दसैँको आठौँ दिन महागौरीको विधिपूर्वक विशेष पूजाआराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउँछन्।

आज उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बगलामुखीलगायत मन्दिरमा पनि बलिसहित श्रद्धालुको बिहानैदेखि भीड लागेको छ।

यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।

आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ।
प्रकाशित: १ कार्तिक २०८३ ५:२९ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast