भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

हिमाल प्रेस १ कार्तिक २०८३ ६:२७ | Saturday, October 17, 2026
भन्सार छलीका ९ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद

रुपन्देही- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बनरहवाबाट प्रहरीले भन्सार छली गरी लुकाइछिपाइ राखिएका रु नौ लाख १८ हजार मूल्य बराबरका मोबाइलका डिस्प्ले तथा बडी प्यानल बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गएराति खोजतलास गर्दा उक्त स्थानमा लुकाइछिपाइ राखिएका मोबाइलका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमा विभिन्न ब्रान्डका मोबाइलका डिस्प्ले तथा बडी प्यानल रहेका छन् । ती सामग्रीको वैध भन्सार कागजात नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा भन्सार छली गरी मोबाइलका पार्टपुर्जा, इलेक्ट्रोनिक सामग्री तथा अन्य सामान भित्र्याउने गतिविधि बढेपछि प्रहरीले निगरानी र गस्तीलाई तीव्र बनाएको छ । बरामद सामग्रीको मूल्याङ्कन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ ।

बरामद सामग्री आवश्यक कारबाहीका लागि शुक्रबार भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सहयोग गर्न र शङ्कास्पद गतिविधिबारे तत्काल जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रकाशित: १ कार्तिक २०८३ ६:२७ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast