पोखरा महानगरपालिका–१३ उद्गमटोलस्थित केवलकार मनकामना नर्सरीमा सयपत्री फूल टिप्दै व्यवसायी। तस्बिर : रासस
काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे।
‘तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।’
अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए।
एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत रु ९० को थोक मूल्यको आधारमा रु ४० करोड ५० लाख, मखमली फूलको ६ लाख मालालाई औसत थोक मूल्य रु ४५ का दरले रु दुई करोड ७० लाख, गोदावरी फूलको २० हजार मालालाई औसत थोक मूल्य रु एक हजार २०० का दरले रु दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य रु ४०० का दरले दुई करोड ४० लाख पर्नेछ।
यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए।
मेलामा सेल्फीसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन्। मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ। मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। –रासस



