च्याउ टिप्न घरबाट निस्किएका युवक ६ दिनदेखि बेपत्ता

हिमाल प्रेस २९ भदौ २०८३ ६:२२ | Monday, September 14, 2026
च्याउ टिप्न घरबाट निस्किएका युवक ६ दिनदेखि बेपत्ता

बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता भएका छन्। भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जंगली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का साँझसम्म घर फर्किने बताए पनि अहिलेसम्म सम्पर्कविहीन छन्।

जंगलबाट नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले उनको खोजी सुरु गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सिमानामा पर्ने भएकाले सम्भावित क्षेत्रमा खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ ।

खड्का बेपत्ता भएको छ दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएपछि परिवार थप चिन्तित बनेको छ। उक्त क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा खोजी कार्य र आपसी सम्पर्कमा समस्या भइरहेको उनका काका फिट्टु खड्काले बताए।

परिवारले बेपत्ता खड्काको खोजी कार्यलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ । खोजीमा आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न परिवारले अपिल गरेको छ।

परिवारले खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन स्थानीयवासी तथा सबै सरोकारवालासँग आग्रह गरेको छ।

प्रकाशित: २९ भदौ २०८३ ६:२२ | Monday, September 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast