तस्बिर एआई निर्मित
भक्तपुर- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये ६ जना सम्पर्कमा आएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ।
सम्पर्कविहीनमध्ये ६ जना सम्पर्कमा आएका छन् भने भक्तपुरका इञ्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको पुष्टि भइसकेको उनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयमा बाहिरी जिल्ला ठेगाना भएका ५६ जना व्यक्तिसमेत सम्पर्कविहीन भएका विवरण प्राप्त भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
तीमध्ये दुई जना सम्पर्कमा आएका र एक जना काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत रहेका उनले बताए।
यसैबीच, वातावरण संरक्षण समितिका अध्यक्ष सत्यसुन्दर प्रजापतिका मामा न्हुछेबहादुर प्रजापतिले भन्जाको शव यही भदौ १२ गते फेला परेको जानकारी दिए।
‘बाढी गएको आज सात दिन भइसकेको छ, सरोकार भएका निकायले खोज तथा उद्धारलाई तीव्रता दिई नागरिकको सकुशल उद्धारमा जुट्न आग्रह गर्दछु’,उनले भने।
भदौँ १० गतेदेखि आजसम्म सेना, हवाई माध्यम, ड्रोनको सहायताले निरन्तर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


