जेई संक्रमणबाट १३ जनाको निधनपछि झापामा थालियो मस्तिष्क ज्वरोविरुद्धको खोप अभियान

हिमाल प्रेस ६ असोज २०८३ ७:४५ | Tuesday, September 22, 2026
2
SHARE
जेई संक्रमणबाट १३ जनाको निधनपछि झापामा थालियो मस्तिष्क ज्वरोविरुद्धको खोप अभियान

झापा- जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका नौ स्थानीय तहमा आजदेखि अभियान सुरु भएको हो । उनका अनुसार, पहिलो दिन खोप लगाउनेमा ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच हजार ८४१ जना छन् ।

जिल्लाका १५ वटै स्थानीय तहमा असोज १५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रमुख दासले पहिलो दिनको खोप अभियान उत्साहजनक रूपमा अघि बढेको बताए । लक्षित समूहका सबै नागरिकलाई खोपको पहुँचमा ल्याउने गरी स्थानीय तह र स्वास्थ्य संस्थासँगको समन्वयमा अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए । झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताए ।

जेईविरुद्धको खोप अभियानका लागि जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ ।

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो। यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ। यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन्। यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ।

प्रकाशित: ६ असोज २०८३ ७:४५ | Tuesday, September 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast