काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा (भदौ १० गते) बुधबार आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका थप एक जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट थप एक जनालाई जीवितै उद्धार गरिएको हो। यससँगै सुरुङभित्रबाट जीवितै उद्धार हुनेको संख्या दुई पुगेको छ। उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन हुन्।
सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरीको संयुक्त टोली निरन्तर खटिरहेको छ।
यसअघि आज बिहान खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको नेपाली सेनालाई उद्धृत गर्दै रास्वपा सांसद समेत रहेका इन्जिनियर न्यौपानेले जानकारी दिएका थिए।
उद्धार टोलीले सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजीलाई समेत तीव्रता दिएको छ।


