हेटौँडा- हेटौँडा उपमहानगरपालिका-५ का ९ वर्षीय श्रीयांश श्रेष्ठले खुत्रुकेमा जम्मा गरेको बचत बाढीपीडितको सहयोगमा खर्च गरेका छन्।
बाढीपहिरोबाट प्रभावित नागरिकको भिडियो देखेपछि श्रेष्ठले आफ्नो बचत पीडितको सहयोगमा प्रयोग गर्ने निष्कर्षमा पुगेका थिए।
‘मैले तीन वर्षदेखि खुत्रुकेमा पैसा जम्मा गरेको थिएँ। बाढीपहिरोबाट घरगोठ गुमाएका मानिसलाई यो पैसा दिन चाहन्छु’, श्रीयांशले भने, ‘सानोभन्दा सानो सहयोग पनि गर्न सकिन्छ, त्यही भएर खुत्रुके फुटाएको हुँ।’
उनको इच्छाअनुसार परिवारको समेत सहयोग जोडेर रु ४७ हजार ५८० बराबरको सहयोग गरिएको उनका बुबा सिरञ्जी श्रेष्ठले जानकारी दिए।
उक्त रकममध्ये रु २० हजार ९७० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ भने बाँकी रकमबाट भाँडाकुडालगायत राहत सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत बाढी प्रभावित क्षेत्रमा पठाइएको छ।
उनी स्थानीय बाल जागृति विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेका छन्।


