बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि के के चाहिन्छन् अत्यावश्यक सामग्री? सरकारले निकाल्यो तालिका

हिमाल प्रेस १३ भदौ २०८३ ६:५५ | Saturday, August 29, 2026
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि के के चाहिन्छन् अत्यावश्यक सामग्री? सरकारले निकाल्यो तालिका

काठमाडौँ- सरकारले भोटेकाशी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि चाहिने सामग्रीको सूची सार्वजनिक गरेको छ। बाढीका कारण जनधनको ठूलो क्षति भएको र हाल उद्धार तथा राहतको कार्य निरन्तर भइरहेको जनाउँदै प्राधिकरणले इच्छुक दातालाई सहयोगका लागि आह्वान गरेको हो। प्राधिकरणले सूचना जारी गर्दै इच्छुक दातृ निकाय, अन्तर्राष्ट्रिय विकास साझेदार, संघसंस्था, नागरिक समाज र निजी क्षेत्रले तोकिए बमोजिमका सामग्री उपलब्ध गराउन सक्ने जनाएको छ ।

तर तोकिएको सूचीभन्दा बाहेकका सामग्री उपलब्ध गराउनु परेमा त्यसको विवरण प्राधिकरणको इमेलमा पठाएर पूर्वसहमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। हवाईमार्गबाट आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदामघरमा बुझाउनुपर्ने व्यवस्था मिलाइएको छ।

स्थलमार्गबाट प्राप्त हुने सामग्री भने काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, नुवाकोटको बट्टारस्थित मैथली ब्यारेक वा रसुवाको धुन्चेस्थित जिल्ला प्रशासन कार्यालयमा बुझाउन सकिने छ।

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सिधै प्रभावित क्षेत्रमा पनि सामग्री उपलब्ध गराउन सकिने प्राधिकरणले प्रष्ट पारेको छ। बाढी प्रभावितका लागि आवश्यक पर्ने सामग्रीलाई प्राधिकरणले विभिन्न समूहमा वर्गीकरण गरेर सार्वजनिक गरेको छ। बासस्थानका लागि टेन्ट, त्रिपाल, डोरी, ब्ल्याङ्केट, म्याट र स्लिपिङ ब्याग आवश्यक रहेको सूचनामा उल्लेख छ।

भान्साको प्रयोजनका लागि ग्यास सिलिन्डर, चुलो, भाँडाकुँडा, बाल्टी र जग मागिएको छ। सरसफाइतर्फ बालबालिका तथा किशोरीका लागि आवश्यक किट, स्यानिटरी प्याड, साबुन, स्यानिटाइजर, मास्क, पियुस र क्लोरिन ट्याब्लेट जस्ता सामग्रीको सूची सार्वजनिक गरिएको छ।

उज्यालोका लागि टर्चलाइट, पावर बैंक, ब्याट्री, सोलार प्यानल, जेनेरेटर र सोलार बत्ती आवश्यक रहेको प्राधिकरणले औँल्याएको छ। खाद्यान्नअन्तर्गत हाइ इनर्जी बिस्कुट, तयारी खानेकुरा, चामल, दाल, आलु, खानेतेल, नुन, चिउरा, गेडागुडी, सुकेको च्याउ, ड्राइ फ्रुट्स र मसलाजन्य वस्तुलाई राहत सूचीमा समावेश गरिएको छ।

यसैगरी आपत्कालीन यातायात सुचारु गर्न ५० देखि ७० मिटर लम्बाइको बेलीब्रिज समेत आवश्यक रहेको सूचनामा खुलाइएको छ। खोज तथा उद्धारमा प्रयोग हुने विशेष सामग्रीको प्राविधिक विवरण भने प्राधिकरणको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।

राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन प्राधिकरणले विभिन्न संकलन केन्द्रका लागि नौ जना सम्पर्क व्यक्ति र उनीहरूको फोन नम्बरसमेत तोकेको छ। प्राधिकरणले प्रभावित घरपरिवारलाई छिटो र छरितो रूपमा राहत व्यवस्थापन गर्न खोज, उद्धार तथा राहत सामग्रीहरू आवश्यक देखिएको जनाएको छ।

 

प्रकाशित: १३ भदौ २०८३ ६:५५ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast