विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए शपथ

हिमाल प्रेस २१ साउन २०८३ १९:५७ | Thursday, August 6, 2026
12
SHARES
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए शपथ

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्राडा. खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराएका हुन्। त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव प्राडा. रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए।

शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।

नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्राडा. केसी र सचिवमा प्राडा. श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्।

त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्राडा. केसरजङ्ग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्।

उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका छन्।

आयोगकी नवनियुक्त सचिव श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्। उनले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेकी छन्।

नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन्।

प्रकाशित: २१ साउन २०८३ १९:५७ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast