त्रिशूली–३ ‘ए’ मा रातभर उद्धार, पुनः आएको बाढीले चुनौती थप्यो

हिमाल प्रेस १४ भदौ २०८३ ११:२४ | Sunday, August 30, 2026
त्रिशूली–३ ‘ए’ मा रातभर उद्धार, पुनः आएको बाढीले चुनौती थप्यो

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य शनिबार रातभरि निरन्तर सञ्चालन गरिएको जनाएको छ।

तर आइतबार बिहान पुनः आएको बाढीले उद्धार तथा क्षति व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको कार्यालयले जनाएको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार आइतबार बिहान करिब ४ बजे आयोजना क्षेत्रमा फेरि आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ।

नदीको सतह एकाएक बढेपछि त्यसले आयोजनास्थल आसपासको किनार तीव्र रूपमा कटान गर्न थालेको छ।

यस्तो प्रतिकूल अवस्थाका बीच पनि सरकारले पूर्ण सतर्कताका साथ आयोजनास्थलको समग्र क्षति र अवस्थाको मूल्यांकन गर्दै माटो तथा लेदो हटाउन डोजरलगायत भारी उपकरण पुनः परिचालन गर्ने तयारी गरेको जनाएको छ।

यसैबीच, पहिरो र माटोले पुरिएको त्रिशूली-३ ‘ए’ को टनेल पोर्टल तथा पावरहाउस नियन्त्रण प्रणालीसँग सम्बन्धित १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्स सुरक्षित रूपमा निकाल्न हेलिकप्टरमार्फत विशेष टोली (स्पेशल फोर्स) परिचालन गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सडक पहुँच पूर्ण रूपमा अवरुद्ध भएकाले हेलिकप्टरबाट पुरिएको भवन नजिकै विशेष टोली अवतरण गराएर ती महत्त्वपूर्ण उपकरणहरू सुरक्षित रूपमा निकाल्ने योजना बनाइएको कार्यालयले उल्लेख गरेको छ।

सरकारले उद्धार, क्षति मूल्यांकन र पूर्वाधार संरक्षणका कामलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइरहेको पनि जनाएको छ।

प्रकाशित: १४ भदौ २०८३ ११:२४ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast