रसुवा बाढीमा रवि लामिछानेको अपिल : उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह

हिमाल प्रेस १० भदौ २०८३ ११:२१ | Wednesday, August 26, 2026
रसुवा बाढीमा रवि लामिछानेको अपिल : उद्धारलाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीपछि उत्पन्न विपद्को अवस्थामा नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

बुधबार बिहान रसुवामा आएको बाढीपछि सामाजिक सञ्जालमार्फत उनले पार्टीका नेता, सदस्य र शुभेच्छुकलाई संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरेका हुन्।

लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्।

विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय र विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरेका छन्।

उनले संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाउन पनि अपिल गरेका छन्। गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्नुका साथै नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने उनको भनाइ छ।

रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सबै नेताकार्यकर्तालाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन पनि उनले आग्रह गरेका छन्।

‘विपद्को यस घडीमा हाम्रो एउटै प्राथमिकता नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग हो,’ उनले लेखेका छन्।

प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न हार्दिक अपिल गरेका छन्।

प्रकाशित: १० भदौ २०८३ ११:२१ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast