गुल्मी- गुल्मीमा पछिल्लो तीन वर्षमा २१८ जनाले आत्महत्या गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार झुण्डिएर, विष सेवन गरेर, पानीमा हाम फालेर र चक्कु प्रहार गरेर आत्महत्या गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षमा महिला ६७ जना, पुरुष १२६ जना र २५ जना बालबालिकाले आत्महत्या गरेका छन् ।
यस अवधिमा आठ वर्षका बालबालिकादेखि बढीमा ८८ वर्ष वृद्धसम्मले आत्महत्या गरेको पाइएको छ । आत्महत्या गर्नेमा यस जिल्लामा विद्यार्थी, कृषि, गृहणी, मजदुर, व्यापारी, वैदेशिक रोजगारी र ज्यामीहरु रहेका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा समग्र रुपमा हेर्दा आत्महत्याको दर प्रत्येक वर्ष घटेजस्तो देखिएता पनि केहि स्थानीय तहमा भने आत्महत्याको दर बढ्दै गएको छ । विशेषगरी मानसिक समस्याका कारण धेरै व्यक्तिले आत्महत्या गर्न सक्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
उनका अनुसार यस जिल्लामका आव २०८०/०८१ मा ८७ जना, आव २०८१/०८२ मा ६७ जना र आव २०८२/०८३ मा ६४ ले आत्महत्या गरेका छन् । तीन वर्षको अवधिमा यस जिल्लाका अन्य स्थानीय तहको तुलनामा सबैभन्दा बढी मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकामा आत्महत्याको घटना बढेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ।
यी दुवै स्थानीय तहमा तीन वर्षमा ३२र३२ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम मालिका गाउँपालिकामा ११ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । तीन वर्षको अवधिमा कालीगण्डकी गाउँपालिकामा १२ जना, रुरुक्षेत्र गाउँपालिकामा १३ जनाले आत्महत्या गरेका छन् ।
त्यसैगरी गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिकामा १५र१५ जना, सत्यवती गाउँपालिकामा १८ जना र रेसुङ्गा नगरपालिकामा २५ जनाले आत्महत्या गरेका छन् । एकताको अभाव, आर्थिक विपन्नता, विभिन्न प्रकारका विभेद, महत्वाकांक्षा, पारिवारिक कलह, पटक–पटकको असफलता, मदिरा सेवन गर्नु, प्रेममा असफल, कडा कानुन, बेइज्जत सहन नसक्नु, लागुऔषधको लतमा फस्नु र केही गर्न सक्दिनँ भन्ने हीनताबोध हुँदा अधिकांश व्यक्तिले आत्महत्या गरेका छन् । त्यसैगरी वैदेशिक रोजगारमा गएकाहरुको परिवारमा आर्थिक तथा अन्य कारणले मनमुटाव हुँदा पनि आत्महत्याका घटना बढेको पाइएको छ ।
आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि सबै तह र संघसंस्थासँग समन्वय गर्ने, विद्यार्थी, सञ्चारकर्मी र समुदायलाई सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै प्रहरी नायब उपरीक्षक विश्वकर्माले विशेषगरी स्थानीय तहहरुले आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि विशेष चासो दिन जरुरी रहेको बताए। आत्महत्या गर्नबाट रोक्नका लागि परामर्श समेत दिने गरिएको छ । स्थानीय तहले परामर्शदाताहरु ल्याएर लक्षीतसमूहलाई परामर्श दिन आवश्यक रहेको उनको भनाइ छ ।


