काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि निर्देशन दिएको छ ।
कार्यालयले बुधबार एक पत्र जारी गर्दै संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नियोगहरूलाई आफ्ना कामकारबाहीमा स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरेको हो ।
स्थानीय सीप र उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन गर्ने प्रमुख उद्देश्यका साथ सरकारले यो कदम चालेको हो । जारी पत्रअनुसार अबदेखि सबै सार्वजनिक निकायहरूले स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन नै रोज्नुपर्नेछ। यसका साथै सरकारी बैठक, औपचारिक समारोह तथा कोसेलीका रूपमा नेपाली हस्तकलाका सामग्रीहरूको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सार्वजनिक निकायहरूले आह्वान गर्ने बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुको प्राथमिकता अनिवार्य उल्लेख गर्नुपर्नेछ । साथै, स्वदेशी उत्पादनको प्रयोग भएरनभएको सुनिश्चित गर्न नियमित अनुगमन गरिने र त्रैमासिक रूपमा निरीक्षण गर्ने प्रावधानसमेत पत्रमा उल्लेख गरिएको छ ।


