फेला परेन सुनकोशीमा बेपत्ता कार, बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन

हिमाल प्रेस १९ साउन २०८३ ७:३७ | Tuesday, August 4, 2026
12
SHARES
फेला परेन सुनकोशीमा बेपत्ता कार, बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन

काठमाडौँ-  सुनकोशीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजीमा आज बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन भएका छन्।  सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा तीन जना यात्रुसहितको एउटा कार सुनकोशी नदीमा खसेर बेपत्ता भएको थियो।

बेपत्ता भएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारमा चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ७ घर भएका ३९ वर्षीय दिल कुमार लामा रहेका खुलेको छ।

लामासँगै कारमा सिन्धुलीकै तिनपाटन गाउँपालिका-९ डाँडाखर्क बस्ने वर्ष १७ वर्षीय सुरज बलम्पाकी र सिन्धुलीकै गोलान्जोर गाउँपालिका-१ का करिब २८ वर्षीय गणेश थापा सवार थिए।  थापा स्काभेटर चालक हुन्। बलम्पाकी हेल्पर भएका प्रहरीले जनाएको छ।

‘बेपत्ता यात्रुको खोजीमा मंगलबार बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी खटिएका छन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले भने, ‘अहिलेसम्म बाढीमा बेपत्ता भएको कार र यात्रु फेला परेका छैनन्।’

उनले बर्षाको कारण सुनकोसीमा ठूलो बाढी आएकाले गोताखोरलाई पानीमा पसेर खोजी गर्नसमेत समस्या हुने गरेको बताए।

खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१०-०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोसी नदीमा खसेर बेपत्ता भएको हो।

बेपत्ता कार र यात्रुको खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको छ।

दुर्घटनापछि बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका ६ बस्ने २६ वर्षीय हेम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १९ साउन २०८३ ७:३७ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast