विदेशी विश्वविद्यालयको उपाधिको मान्यतामा मन्त्री पुनको प्रश्न, कार्यकारी निर्देशकको योग्यतामा सहमति

हिमाल प्रेस २६ साउन २०८३ ११:१५ | Tuesday, August 11, 2026
14
SHARES
विदेशी विश्वविद्यालयको उपाधिको मान्यतामा मन्त्री पुनको प्रश्न, कार्यकारी निर्देशकको योग्यतामा सहमति

काठमाडौँ- राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन प्रचलित कानुन बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोतर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्थामाथि प्रारम्भिक सहमति जुटेको छ।

सिंहदरबारमा सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलका क्रममा ‘नेपाल सरकारद्वारा’ भन्ने शब्दको सट्टा ‘प्रचलित कानुन बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट’ भन्ने शब्द राख्ने प्रस्तावमा सहमति जुटेको हो।

राष्ट्रियसभाबाट संशोधन भएको ‘अपहरण’ भन्ने शब्दको सट्टा ‘अपहरण, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी कसुर’ मा सजाय नपाएको शब्द राख्ने सहमति जुटेको छ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विदेशका विश्वप्रसिद्ध विश्वविद्यालयबाट उपाधि हासिल गरेर आएका व्यक्तिहरूले पनि नेपालमा त्रिभुवन विश्वविद्यालय वा अन्य निकायबाट मान्यता पाउन समस्या भोग्नु परेको बताए।

त्रिभुवन विश्वविद्यालयले समकक्षता दिने गरेकोमा हाल विश्वविद्यालय अनुदान आयोग मार्फत यो प्रक्रिया हुने गरे पनि कुन निकायको मान्यतालाई आधिकारिक मान्ने भन्ने विषयमा अझै पनि अस्पष्टता नै रहेको बताए।

विदेशी विश्वविद्यालय आफैँमा मान्यता प्राप्त भएर डिग्री दिएको हुँदा मान्यताको दायरा कसरी तोक्ने भन्ने विषयमा व्यावहारिक कठिनाइहरू रहेको उनले बताए।

त्यस्तै विधेयकमा उल्लेख कार्यकारी निर्देशकको नियुक्तिको उमेर हद (३० वर्ष राख्ने, खुला राख्ने, वा बढाएर ३४-३५ वर्ष पुर्‍याउने) विषयमा छलफल भए पनि हाललाई यस व्यवस्थालाई यथावत नै राख्ने र तुरुन्तै संशोधन नगर्ने प्रस्ताव गरिएको छ।

प्रकाशित: २६ साउन २०८३ ११:१५ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast