काठमाडौँ- रसुवाको भोटेकोसीमा आएको बाढीपछि भारतले चौथोपटक राहत सामग्री पठाएको छ । भारतको विदेश मन्त्रालयले ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपालमा अवतरण भएको जानकारी दिएको छ । राहत सामग्री हस्तान्तरण गरिएको पनि जनाएको छ ।
मन्त्रालयका अनुसार चौथोपटकमा भारतले खोज तथा उद्धार कार्यका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली पनि पठाइएको छ ।
त्यस्तै, डीएनए विश्लेषणका लागि फोरेन्सिक विज्ञहरूको टोली र कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइ किटसहितका राहत सामग्रीहरू समावेश रहेका भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, थप २३० फिट सिंगल लेन मोड्युलर स्टील पुलको लागि उपकरण बोकेका १६ ट्रकहरू नेपाल आइपुगेका पनि जानकारी दिइएको छ ।
थप सात बेली ब्रिजहरू स्थापनाका लागि उपकरणहरू चाँडै आपूर्ति गरिनेछ। तिनीहरूको स्थापनाका लागि प्राविधिक टोलीहरू चाँडै पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।



