काठमाडौँ- संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंकलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा लामो अनुभव हासिल गरेका पूर्वकर्मचारीहरूको संस्था बहुराष्ट्रिय संस्थाका पूर्व कर्मचारी समाज (फिप्मो) ले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आपत्कालीन मानवीय सहयोगदेखि पुनर्स्थापना र पुनर्निर्माणसम्म सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
फिप्मोले सोमबार विज्ञप्तिमार्फत बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायलाई आवश्यक सहयोगका लागि आफ्नो ज्ञान, अनुभव र सञ्जाल परिचालन गर्न तयार रहेको जनाएको हो।
समाजले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक, मानवीय सहायता संस्था तथा स्थानीय समुदायबाट भइरहेको खोज, उद्धार, राहत तथा अत्यावश्यक सेवा प्रवाहको प्रशंसा गरेको छ। साथै, प्रभावित समुदायको वास्तविक आवश्यकता पहिचान गरी सहायता परिचालनलाई थप समन्वयात्मक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।
फिप्मोका सदस्यहरूले संयुक्त राष्ट्रसंघ, विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा लामो समय काम गरेको अनुभवलाई विपद्पछिको व्यवस्थापनमा उपयोग गर्न सकिने समाजको भनाइ छ। त्यसअनुसार तत्कालीन आपत्कालीन मानवीय सहयोगदेखि प्रभावित समुदायको जीवन तथा जीविकोपार्जन पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, स्थानीय तह, समुदाय र विकास साझेदारसँग सहकार्य गर्न आफू तयार रहेको फिप्मोले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षित र उत्थानशील पुनर्निर्माण आवश्यक रहेको उल्लेख गर्दै समाजले त्यसका लागि आफ्नो व्यावसायिक ज्ञान, अनुभव र संस्थागत सञ्जाल परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।


